सर्वोच्चबाट फर्किएपछि प्रचण्डले के भने ?
काठमाडौ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसला राजनीतिक भएको भन्दै अदालतले उक्त निर्णय सच्याउनेमा आफूहरु विश्वस्त रहेको बताएका छन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नाम विवाद निरुपणका सन्दर्भमा सर्वोच्च अदालतले गरेको फैसला पुनरवलोकनका लागि रिट दर्ता गरेपछि पत्रकारहरुसँग प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्।
उनले रिट निवेदकले नै पार्टी एकता टुटोस् भन्ने मनासयले निवेदन दर्ता नगरेको भन्दै सर्वोच्चको फैसला रिट निवेदकको चाहनाभन्दा बाहिरबाट आएको बताए।
‘रिट निवेदकले पार्टी एकता टुटोस् भन्ने चाहेका थिएनन्, निवेदकको निवेदकको चाहनाभन्दा बाहिरबाट फैसला आयो’, उनले भने।
उनले अदालतको फैसला अस्वभाविक र अप्राकृतिक भएको बताउँदै त्यसमा आफूहरुको असहमति रहेको बताए।
‘आज म पहिलोपटक अदालतको फैसला त्यो पार्टीको नामसम्बन्धी जुन फैसला भयो। त्यो स्वभाविक, प्रकृतिको भएन राजनीतिक प्रकृतिको भयो।
त्यसमा पुनरावलोकन गर्नुपर्यो भनेर मैले निवेदन दर्ता गराएको छु’, प्रचण्डले भने। उनले यसबारे छिट्टै फैसला आउने समेत विश्वास व्यक्त गरे।