ओलीसँग ‘वार कि पार’ गर्न माधव नेपालले डाके बैठक
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साधारण सदस्य समेत नरहनेगरी कारबाही गरेपछि एमालेका नेता माधवकुमार नेपाल रणनीति बनाउन लागिपरेका छन् ।
आफू कसरी अघि बढ्ने भन्ने विषयमा निकटवर्ती नेताहरुसँग छलफल गर्ने तयारी गरेको एक नेताले जानकारी दिए । नेता नेपालले आजै दिउँसो १२ बजे खनाल–नेपाल समूहमा रहेका स्थायी कमिटी सदस्यहरुलाई छलफलका लागि बोलाएका छन् ।
आजको छलफलबाट केपी ओलीसंग वार कि पार हुने बताइएको छ । बैठकमा आगामी रणनीतिका विषयमा छलफल हुनेछ । यसअघि सोमबार नै समानान्तर कमिटी बनाउँदै तलसम्म पुग्ने योजना बनाइसकेको सो समूहले थप छलफल गर्न लागेको स्रोत बताउँछ ।
नेपाल र रावललाई देश, जनता र पार्टीविरुद्ध आपराधिक गतिविधि गरेको आरोपसहित सोमबार ओलीले ६ महिनाका लागि निलम्बनको पत्र काटेका थिए। तर उनले सच्चिएर आए निलम्बन अवधि कम गर्न सकिने पत्रमा उल्लेख गरेका छन्।