मन्त्रीलाई स्थानीयले लखेटेको आक्रोशमा प्रजिअ र प्रहरी प्रमुखमाथि कारबाही
काठमाडौँ- सुरक्षा व्यवस्थापन गर्न नसकेको भन्दै रूपन्देहीका प्रमुख जिल्ला अधिकारी र दुई प्रहरी प्रमुखको सोमबार एकै साथ सरुवा भएको छ ।
मोतीपुर औद्योगिक क्षेत्र शिलान्यासका क्रममा अर्थमन्त्री विष्णु पौडेल र उद्योग मन्त्री लेखराज भट्टलाई स्थानीयले लखेटेको विषयमा मन्त्रीहरूको सुरक्षा गर्न नसकेको ठहर पछि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेलाई पर्सा सरुवा गरिएको छ भने उनको ठाउँमा पर्साका प्रजिअ अस्मान तामाङलाई जिम्मेवारी दिइएको छ ।
गत फागुन २१ गते सरकारले मोतीपुर औद्योगिक क्षेत्रमा तयारी बिनै शिलान्यास कार्यक्रम गरेको थियो । उद्योगका लागि अधिग्रहण गरेको जग्गामा आफूहरूको व्यवस्थापन नगरी ‘जबर्जस्ती’ शिलान्यास गरेको भन्दै स्थानीयले कार्यक्रम अवरोध गरेका थिए । अवरोधकै बीच शिलान्यास गर्न खोज्दा स्थानीयले मन्त्रीमाथि ढुंगा प्रहार गरेका थिए ।
असुरक्षा देखिएपछि मन्त्रीद्वयले कार्यक्रम छाडेर लुम्बिनी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा पुगे र पत्रकार सम्मेलनमार्फत कुरा राखेका थिए ।
यद्यपी स्थानीय प्रशासनको संयमितताकै कारण त्यहाँ कुनै अप्रिय घटना घटेन । स्थानीय जनताको चर्को विरोधका बिच अर्थमन्त्री पौडेल जवर्जस्ती शिलान्यास गर्न पुगेका थिए ।
प्रमुख जिल्ला अधिकारीसँगै सुरक्षा प्रमुखहरु पनि काठमाडौं तानिएका छन् । रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक(एसपी) प्रविण पोखरेल र सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक भरत खनियालाई पनि हटाइएको जनाइएको छ ।
कर्मचारी वृत्तमा गल्ति गरे या कसैलाई मन नपरेको अवस्थामा सबैभन्दा सजिलो कारवाही सरुवा हो । कर्मचारीको सरुवा कारवाही नभई नियमित प्रक्रिया भएपनि उच्च पदस्थहरुले यसैलाई कारवाही ठानी दिँदा सरुवा एउटा बिकृतीकै रुपमा मौलाउँदै आएको छ ।
कर्मचारीबाट गल्ति भएको पुष्टि भए कारवाही नै गर्नु पर्ने तर सरुवालाई कारवाही स्वरुप लिने चलन बन्द नगरुन्जेल कर्मचारीतन्त्र नसुध्रिने प्रशासकहरुको भनाई छ ।