एमालेभित्रै माधव नेपालको यस्तो बिजोग
काठमाडौं- लामो समय एमाले हाँकेका माधव नेपाल अहिले भने निरिह बनेका छन् । शनिबार काठमाडौंमा आयोजना गरेको बृहत् नागरिक आन्दोलनको अन्तर्क्रिया कार्यक्रममा पनि माधव नेपाल अत्यन्त कमजोर र हतोत्साहि देखिए ।
एकातिर अध्यक्ष केपी शर्माको निरन्तर पेलाई अर्कातिर आफ्नै निकटका नेतासमेतले उनलाई छाड्ने धम्की र दवाव दिइरहनुले पनि उनी कमजोर देखिएका छन् । माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीसँगै एउटै पार्टीमा बस्न चाहिरहेका छैनन् तर बाध्य छन् ।
‘दुःखका साथ भन्नुपर्छ, अहिलेका हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट जुन प्रतिगमनकारी कदम चालियो, त्यसको विरुद्धमा तपाईंहरू संघर्षको मैदानमा हुनुहुन्थ्यो । आज म अप्ठ्यारो महसुस गर्दैछु, त्यही पार्टीमा मलाई फेरि सर्वोच्च अदालतले घोक्र्याएर पठाइदिएको छ,’ उनले सार्वजनिक कार्यक्रममै भने, ‘हामी पुरानो ठाउँमा फर्किन खोजिरहेका छौं । तर विडम्बना ! भन्न पनि कस्तो गाह्रो छ भन्दा यो पार्टी भित्रको कुरा फेरि डबलीमा आएर भन्यो माधव नेपालले भनेर फेरि अर्को आरोप लाग्ला । त्यसपछि कुन दिन मलाई घोक्र्याएर त्यहाँबाट पनि निकाल्दिने स्थिति बन्ला । त्यस्ता कुराबाट डराउनेवाला माधव नेपाल होइन !’
नेता नेपाल अध्यक्ष ओलीसँग एउटै पार्टीमा बस्न इच्छुक छैनन् । सर्वाेच्च अदालतको फैसलाका कारण उनी एमालेमै बसिरहेका छन् । तर पार्टीमा मिलेर बसेका छैनन्, अध्यक्ष ओलीसँग संघर्ष गर्दै समानान्तर गतिविधि गरिरहेका छन् ।
नेकपा एकीकृत नै रहँदा नेता नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मिलेर ओलीलाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरेका थिए । फागुन २३ गते सर्वाेच्च अदालतले नेकपा नाम विवादमा फैसला सुनाएपछि परिस्थिति अर्कै बन्यो ।
फागुन २८ गते अध्यक्ष ओलीले बालुवाटारमा एमाले केन्द्रीय कमिटी बैठक राखेर केन्द्रीय कमिटीमा सदस्य थप र पदाधिकारीलाई जिम्मेवारीमुक्त गर्ने निर्णय गरे । त्यस निर्णयविरुद्ध वरिष्ठ नेता झलनाथ खनाल र नेपाल समूहले निरन्तर संघर्ष गरिरहेको छ । संघर्षको सुनुवाइ हुने संकेत समेत मिलेको छैन ।
संघर्षकै क्रममा खनाल–नेपाल समूहले चैत ४ र ५ गते काठमाण्डुमा राष्ट्रिय कार्यकर्ता भेला राख्यो । एमाले महासचिव ईश्वर पोखरेलले छुट्टै भेला नगर्न निर्देशन दिएपनि भेला भएरै छाड्यो । त्यसपछि ओली अध्यक्षताको एमाले केन्द्रीय कमिटी बैठकले नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोधेको छ । विवाद झन्झन् चर्किंदै गएको छ ।
अध्यक्ष ओलीले स्पष्टीकरण मात्रै सोधेका छैनन्, नेता नेपाल र रावलको स्पष्टीकरण चित्त बुझ्दो नभएको र नकारात्मक रहेको भन्दै कारवाहीको भागिदार रहेको बताएका छन् । गत शुक्रबारको एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले नेपाल र रावलको स्पष्टीकरण अत्यन्त नकारात्मक कोणबाट आएकाले कारवाहीको भागिदारयोग्य रहेको जनाएका छन् ।
खनाल–नेपाल समूहले राख्दै आएको फागुन २८ गतेको निर्णय फिर्ताको मागमा समेत ओली सकारात्मक देखिएका छैनन् । ‘फागुन २८ गतेको केन्द्रीय कमिटी बैठकका निर्णय र चैत ५ र ७ गतेको संसदीय दलले गरेका निर्णय तथा विधान संशोधन कुनै हालतमा फिर्ता हुँदैनन् । तपाईंहरू यसबीचमा बैठकमा आउनुभएन,अब आउनुभएको छ स्वागत छ तर गुटगत डिल हुँदैन,’ ओलीले बैठकमा भने ।
शुक्रबारको संसदीय दलको बैठकमा वरिष्ठ नेता खनाल लगायत सांसदहरू सहभागी थिए । बैठकमा नेता नेपाल र भीम रावल भने सहभागी थिएनन् । ओलीले विगतका निर्णय फिर्ता पनि नलिने र उल्टै कारवाही नै गर्न तम्सिएका बेला माधवकुमार नेपाल भने संकटमा परेका छन् ।
चौतर्फी चेपुवामा परेका नेता नेपालसामु अबको विकल्प के हो ? नेता नेपाल ओलीसँगै बस्न रुचाउँदैनन् । यस्तो अवस्थामा पार्टी विभाजन गरेर छुट्टै हिँड्न सम्भव छ ? पार्टी फुटाउने विषयमा समेत नेता नेपाल समूहका अधिकांश नेता सकारात्मक छैनन् । एमालेमै संघर्ष गरेर जानुपर्ने निष्कर्ष नेता नेपाल समूहको भेलाले निकालेको छ ।
नेता नेपाल समूहमा रहेका चर्चित नेताहरू घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्टहरू पार्टी विभाजन गर्ने मनस्थितिमा छैनन् । नेता भट्टराईले पार्टी विभाजनलाई साथ दिन नसकिने जानकारी नेता नेपाललाई गराइसकेका छन् । स्रोतका अनुसार नेताहरू भुसाल र विष्ट समेत पार्टी विभाजनमा सकारात्मक छैनन् ।
एमालेभित्र कारवाही हुनै लागेको र आफ्नो समूहका सांसदहरू अध्यक्ष ओलीले बोलाएको बैठकमा गइसकेको अवस्थामा नेता नेपाल ठूलै धर्मसंकटमा परेका छन् । सायद यो संकटको समाधान नेता नेपाल स्वयंले पनि निकालिसकेका छैनन् होला । त्यही भएर नेता नेपालले सार्वजनिक कार्यक्रममै भनेका छन्, ‘दुःखका साथ भन्नुपर्छ, आज म अप्ठ्यारो महसुस गर्दैछु, त्यही पार्टीमा मलाई फेरि सर्वोच्च अदालतले घोक्र्याएर पठाइदिएको छ ।’
नेता नेपाल भावनात्मक रूपमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग निकट छन् । लगातार भेटवार्ता र छलफल समेत भइरहेको छ । सर्वाेच्च अदालतको फैसलाविरुद्ध दुवै समूहले मिलेर पुनरावलोकन दिने तयारी समेत गरेका छन् । तर नेपाल र प्रचण्डले राजनीतिक रूपमै एकै पार्टीमा रहेर हिँड्न समेत सहज बाटो छैन । संकटको समाधान के हो ? माधव नेपाल रनभूल्ल छन् ।