तनावमा माधव नेपाल
काठमाडौं- नेकपा एमालेभित्रको राजनीतिले फरक मोड लिएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रूपमा पार्टी चलाउने र माधव नेपाल समुहलाई पेलेरै अगाडी बढ्ने अडान लिएपछि एमालेको राजनीतिक मोड फेरिएको हो ।
पछिल्ला केहि घटनाक्रमले पार्टीबाट विद्रोह गर्ने लाइनमा रहेका माधव नेपाल समुहकै नेताहरूले लगातार दवाव दिन थालेपछि वरिष्ठ नेता नेपाल धर्मसंकटमा परेका छन् । आफ्नै समुहका प्रभावशाली नेताहरूले ओलीसंग मिल्न र अलग गतिविधि नगर्न दवाव दिएपछि एमालेमा देखिएको दृश्य रोचक समेत बन्दै गएको छ ।
बालुवाटारमा खुट्टा नै नटेक्ने चर्को अडान लिएका नेपाल समुहले एक महिना पनि नपुग्दै अडान छाडेका छन् । नेपाल समूह विस्तारै आफ्नो अडानबाट ब्याक हुन थालेको छ । त्योभन्दा महत्वपूर्ण कुरा, आफ्नै सारथीहरुले नै नेता नेपालको खुट्टा दह्रोगरी समात्न छाडेका छन् ।
त्यतिमात्र होइन पछिल्लो समय सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोर्कण विष्ट, योगेश भट्टराई लगायतका नेताहरुले खबरदारी गरेपछि नेता नेपाल आफ्नै समुहमा चेपुवामा परेका छन् । हिजोमात्र दुवै समुहलाई लचक बन्न र पार्टी जोगाउन सुझाव दिएका नेता योगेश भट्टराईले समेत नेता नेपाललाई भेटेरै चर्को दवाव दिएका थिए ।
नेकपा एमालेका कुल १२० सांसदमध्ये माधवकुमार नेपाल र झलनाथ खनाल समूहमा ३८ सांसद छन् । यसअघि उनीहरुसँग ४० भन्दा बढी सांसद रहेकामा केहीले गुट परिवर्तन गरिसकेका छन् ।
एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले नेपाल र खनाल पक्षमा रहेका नेताहरूलाई निरन्तर आफूसँग तानिरहेका छन् ।नेता नेपालले आफू पक्षीय नेता कार्यकर्तालाई धैर्य गर्न आग्रह गरेपनि नेताहरू बालुवाटारसंग नजिकिएका छन् ।
एमालेभित्रै रहेर ओलीसँग संघर्ष गर्ने लाइनमा रहेका नेता नेपाल समूहका दोस्रो तहका केहि नेताहरु भने ओलीसंग विद्रोह गर्न दवाव दिएका छन् । तर विद्रोहका लागि दवाव दिने नेताहरूको संख्या निकै कम छ ।
एमाले नेताहरु भीम रावललगायतका केहि नेताहरु विद्रोह गरेर अगाडि बढ्ने पक्षमा छन् । तर ओलीले भने नेपाल समुहकै नेताहरू तान्ने र एमालेभित्र झनै वर्चश्व बनाउने लाइनमा छन् ।