माधव नेपालको १३ बुँदे स्पष्टीकरण: उल्टै ओलीलाई कारबाही गर्न माग - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

माधव नेपालको १३ बुँदे स्पष्टीकरण: उल्टै ओलीलाई कारबाही गर्न माग



काठमाडौं- नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन्। नेता नेपालले १३ बुँदामा अध्यक्ष ओलीमाथि विभिन्न आरोप लगाउँदै ओलीलाई नै कारबाही गर्न माग गरेका छन् ।

नेता नेपालले पार्टीले स्पष्टीकरणमा सोधेका प्रश्नको जवाफ नदिइ उल्टै अध्यक्ष केपी शर्मा ओलीलीलाई प्रतिप्रश्न गरेका छन् । नेता नेपालले बुझाएको स्पष्टीकरणमा सर्वोच्चको फैसला विपरित फागुन २८ मा बैठक राखेर पार्टी विभाजनको दुराशय राखेको आरोप लगाएका छन्’

यसबारे नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीमा छलफल हुनुपर्ने उनको माग छ ।

‘नेकपा एमाले पुनःस्थापित भएपछि म समेत नेकपा एमाले र देश तथा जनताको उज्यालो भविष्य चाहने नेता र कार्यकर्ताहरुबाट तपाईं समेतका नेताहरुसंग विगतको तथ्यसंगत समीक्षा गर्दै कमी कमजोरी सच्च्याउँदै पार्टीलाई एकताबद्ध रुपमा अगाडि बढाउन गरिएको आग्रहलाई किन अस्वीकार गर्नुभयो ?’

प्रतिप्रश्न गर्दै भनिएको छ, ‘त्यस्तै यही चैत्र २ गते नेकपा एमाले, केन्द्रीय कार्यालय, धुम्बाराहीमा तपाईं समेत तपाईं निकटका नेताहरुसंग भएको म समेत सहभागी छलफलमा पार्टी एकता र मेलमिलाप कायम गर्दै विगतका कमी कमजोरी हटाएर सशक्त नेकपा एमाले निर्माण गर्न सर्वोच्च अदालतको फैसलालाई स्वीकार गर्दै पार्टी तथा जनसंगठनहरुको संरचना पार्टी एकीकरण पूर्वको स्थितिमा रहेको स्वीकार गरौं र तपाईबाट फागुन २८ गते अवैधानिक रुपमा गरिएको निर्णय बदर गरौं भन्दा तपाईंले किन मान्नु भएन ? यसको तात्पर्य तपाईमा पार्टी विभाजनको दुराशय रहेको देखियो किन नभन्ने ?’

स्पष्टीकरणको अन्तिममा पार्टीले स्पष्टीकरण गर्दा उल्लेख गरेका पार्टी विधानको धारा उल्लेख गर्दै अध्यक्षको गतिविधि कारबाही गरिनुपर्ने प्रकृतिका रहेको उल्लेख गरिएको छ।

भनिएको छ, ‘तपाईले गर्नुभएका उक्त गतिविधिहरु नेकपा एमाले को नवौं राष्ट्रिय महाधिवेशनबाट पारित विधानको अध्याय सातका विभिन्न धारामा स्थापित मान्यताका विपरीत हुनुका साथै धारा ४९ को १, २, ३, ४, ५, ६, ७, ९ र १४ आकर्षित हुनेभई कार्वाई गरिनुपर्ने प्रकृतिका रहेको देखिन्छ।