लडाकुको अर्बौं भ्रष्टाचारबारे वर्षमान पुनले मुख खोले - Himal Post Himal Post
  • २२ माघ २०८१, मंगलवार
  •      Tue Feb 4 2025
Logo

लडाकुको अर्बौं भ्रष्टाचारबारे वर्षमान पुनले मुख खोले



काठमाडौं- नेकपा (माओवादी केन्द्र) का नेता, सांसद तथा पूर्वमन्त्री वर्षमान पुनले लडाकु व्यवस्थापनको ठुलो भ्रष्टाचारबारे मुख खोलेका छन् । उनले यो सबै कुरा प्रचण्डमाथिको प्रतिशोध भएको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिशोधको राजनीति गर्न नहुने टिप्पणी समेत पुनले गरेका छन् । देश चलाउने व्यक्तिले प्रतिशोधको भावना लिए देश कहाँ पुग्छ ? भन्दै उनले उल्टै प्रश्न गरे ।

जनताको सेवा गर्दा नै जनता प्रधानमन्त्री ओलीको पछि पछि लाग्ने सुनाए । उनले भने-“उहाँले राम्रा काम गर्ने हो । राम्रा र असल काम गर्दा नै जनता उहाँको पछि लाग्छन् । यदि उहाँले भनेकै मान्छे खराब हो भने जनताले तिरस्कार गर्छ । किनारा लगाउँछ । अनि उनलाई केही गर्नै पर्दैन् नि ? अनि मान्छेलाई प्रहरी लाउँछु, राज्य लाउँछु, अख्तियार लाउँछु, अर्को लगाउँछु, भनेर त्यसरी चल्छ आधुनिक राज्य ?” प्राइम टाइम्स टिभीको एक कार्यक्रममा पुनले भनेका छन् ।

ऋषि धमलाले तर तपाईँलाई त थाहा छ नि प्रचण्डमाथि अरबौंको आरोप लागेको छ भनेर सोधेको प्रश्नमा नेता पुनले तत्काल जवाफ फर्काए-“केही पनि लागेको छैन् । के आरोप छ ?” धमलाले फेरि सोधे-“मन्त्रीहरुले भनेका छन्, नेत्रविक्रम चन्दले पनि त्यत्रो पैसाहरु कहाँ गए ? प्रचण्डले कहाँ राख्नुभएको छ ? लडाकुको पैसाहरुको कुरा उठाउनुभएको छ नि ?”

जवाफमा पुनले भने-“कुन चाहीँ पैसा, लडाकुको कुन पैसा छ ? राज्यसँग प्रचण्डले कहाँ पैसा लिए ? ३२ हजार पहिले क्यान्टोनमेन्टमा थिए, भेरिफिकेशन हुँदा १९ हजार पुग्यो । अयोग्य लडाकुहरु, बहिगर्मित लडाकुहरु भित्र बस्नुभयो । उहाँहरुले महिनाको पहिला तीन हजार थियो, सायद पछि पाँच हजार पकेट खर्च पाउँथ्यो, ईण्डिभिज्वल सबैले बुझेको छ । कसरी त्यहाँ प्रचण्ड जोडिन्छ ? कुन चाहीँ लडाकुले आरोप लगाए । मै हुँ त प्रचण्डपछिको लडाकु । १९ अर्बको कुरा त, महेश बस्नेतहरुले माओवादीप्रतिको प्रतिशोध साँधेको हो । झण्डै सात आठ वर्ष भयो, किन अनुशन्धान नगरेको त ? फाईल कहीँ पनि छैन् । यो सबै गफ हो ।”

तर, टोपबहादुर रायमाझीले नै यो विषय उठाउनु भएको छ नि भन्ने अर्को प्रश्न गर्दा पूर्वमन्त्री पुनले भने-“टोपबहादुर रायमाझी कहाँ हुनुहुन्थ्यो त अहिलेसम्म ? त्यसो भए उहाँले लिएर खानुभएको होला नि, म एकदम कुल माईण्ड लिएर के भन्छु भने सबै प्रचण्डमाथिको प्रतिशोध हो । एक पैसापनि माओवादी पार्टीले चलाएको छैन् । कसरी पार्टीले चलाउँछ ? सबै यो भ्रम छ नि । प्रचण्डमाथि अन्याय भएको छ ।” उनले यो विषयमा अख्तियारले छानबिन गरोस भन्ने माग पनि गरे । अहिलेसम्म किन छानबिन नगरेको भन्दै उनले आफूहरु तयार रहेको पनि उनले टिप्पणी गरे ।