ओलीलाई बुझाउन नेपाल पक्षले तयार पारे लिखित जवाफ - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

ओलीलाई बुझाउन नेपाल पक्षले तयार पारे लिखित जवाफ



काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेताहरुले पार्टीले सोधेको स्पष्टीकरण तयार पारेका छन् । नेताहरूले तयार पारेको स्पष्टिकरणमा प्रधानमन्त्री ओलीलाई प्रतिप्रश्न गरिएको बताइएको छ ।

एमालेले वरिष्ठ नेता नेपालसहित नेताहरु भीमबहादुर रावल, सुरेन्द्रप्रसाद पाण्डे र घनश्याम भुसाललाई पार्टी विपरीतका गतिविधि गरेको भनी स्पष्टीकरणका लागि सोमबार पत्र पठाएको थियो।

एमाले केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालका अनुसार महासचिव ईश्वर पोखरेलले चारै नेताहरुका नाममा सोधेको स्पष्टीकरण पत्र उनीहरुको निवासमा पठाइएको थियो।

सोमबार स्पष्टीकरणको पत्र प्राप्त भएपछि खनाल-नेपाल समूह आन्तरिक छलफलमा जुटेका थिए । त्यही विषयमा उनीहरुले कानुनविद्सँग सल्लाह लिएको समेत बुझिएको छ।

चैत ७ गते बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले पार्टी विधान र कानुन विपरीत गतिविधि गरेको भन्दै ती नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । उनीहरु चारै जनालाई तीन दिनभित्र लिखित जवाफ पठाउन भनिएको छ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई सर्वोच्च अदालतले गत फागुन २३ गते खारेज गर्दै साविककै एमाले र नेकपा (माओवादी केन्द्र) लाई ब्यूँताएपछि एमाले अध्यक्ष केपी शर्मा ओली र अर्का नेता नेपालबीच तिक्तता बढ्दै गएको छ।

नेता नेपाललगायत नेता प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको प्रतिनिधिसभा विघटन गर्ने निर्णयविरुद्ध उभिएका थिए। एमाले ब्यूँतिएपछि फागुन २८ गते बसेको एमाले केन्द्रीय कमिटी बैठकमा माओवादी केन्द्रका नेता रामबहादुर थापा, टोपबहादुर रायमाझी, प्रभु साह, मणिचन्द्र थापालगायत २३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरिसकेको छ ।