बाबुराम र जसपाको तालमेल बिग्रेको हो ? - Himal Post Himal Post
  • ३ पुष २०८२, बिहीबार
  •      Thu Dec 18 2025
Logo

बाबुराम र जसपाको तालमेल बिग्रेको हो ?



काठमाडौं- जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले लगातार प्रधानमन्त्री केपी ओलीको विरोध गरिरहेका बेला उनकै पार्टीले भने ओलीसँगै मिलेर सरकारमा जाने तयारी गरेको बुझिएको छ ।

जसपाका नेता मनिष सुमनले सोमबार ओलीसँग मिलेर सरकारमा जाने छनक दिए । उनले सरकारले माग पूरा गर्न लागेको छनक दिँदै केपी ओलीसँग सहकार्य हुने दाबी गरेका छन् । रिपोर्टस क्लबको साक्षात्कारमा बोल्दै सुमनले यस्तो दाबी गरेका हुन् ।

उनले समाजवादी पार्टी कुनैपनि अवस्थामा नफुट्ने समेत दाबी गरे। उनले भने, ‘हामी फुट्नेवाला छैनौं। जसपा एक/दुई/तीन फुट्दैन्। जसपाका माग पूरा भयो भने केपी ओलीसँग पनि सहकार्य हुन्छ।’

साक्षात्कारमा बोल्दै सुमनले भने, ‘लाल आयोगको प्रतिवेदन, मुद्दा फिर्ता, संविधान संशोधन, रेशम चौधरीको बाई ईज्जत फिर्ता र नागरिकतासम्बन्धी विद्येयक संशोधनलगायत माग पूरा भयो भने गुण र दोषको आधारमा समर्थन गर्छौं।’

प्रदेश नम्बर २ सांसदसमेत रहेका सुमनले आफूहरुको हातमा सत्ताको साँचो आएको स्पष्ट पारे। ‘हिजो हामीले प्रधानमन्त्री ओलीसँग भेट्न खोज्दा उहाँले भेट्न मान्नुभएको थिएन, तर आज उहाँ खासगरी फागुन २३ गतेपछि खोज्दै खोज्दै हामीकहाँ आउनुभयो। हिजो भेट्न खोज्दा उहाँले भेट्नभएन।’ उनले भने, ‘फागुन २३ गतेदेखि आजसम्म उहाँसँग लगातार छलफल भइरहेको छ।’

उनले सत्ताको साँचो आफूहरुको हातमा आयो भनेर दम्भका साथ अर्गेल्याँई नगरेको पनि जिकिर गरे। ‘संविधान संशोधनमा थुप्रै मुद्दा छन्। मधेश आन्दोलन ताका मुद्दा खारेज, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्छ। रेशम चौधरीलगायतको रिहाई हुनुपर्छ। झुठा मुद्दा फिर्ता लिनुपर्छ।’ उनले भने, ‘जसपा कुर्सीको लागि गठन भएको होईन। हामीलाई कुनै लोभलालच छैन्।’