सरकारबाट पछि हट्यो कांग्रेस
काठमाडौँ- नेपाली कांग्रेस तत्काल सरकारमा जाने कुनै निर्णय गरेको छैन । पटकपटक बस्दै निर्णय गर्न नसकी उठ्ने गरेको कांग्रेस पदाधिकारी बैठक आजपनि अनिर्णयको बन्दी बनेको छ ।
कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले कांग्रेसले सरकारको नेतृत्व गर्न परिपक्क अवस्था नबनेकाले काँग्रेसले तत्काल सरकारमा जाने निर्णय नगरेको बताए । निकै पेचिलो बन्दै गएको सत्ता साझेदारी र सहज बन्दै गएको कांग्रेसले नेतृत्व गर्ने अवसर हुँदापनि कांग्रेसले निर्णय गर्न नसक्नुलाई कांग्रेस ब्याक भएको आंकलन गरिएको छ।
केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्प खोज्नुपर्ने विषयमा कांग्रेसभित्रै चर्किएको बहसबीच पनि कांग्रेसले कुनै निर्णय गर्न सकेको छैन । नेता लेखकले आवश्यक परे सरकारको नेतृत्व गर्न भने कांग्रेस तयार रहेको दोहोरो अर्थ लाग्ने वाक्य बताएका थिए ।
उनले सोमबार बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा सरकार गठनको विषयमा कुरा नभएको बताए । ‘समय आए, आवश्यकता परे पार्टीले सरकारको नेतृत्व गर्छ । यस्तो अवस्था आए सरकारको नेतृत्व गर्छु भनेर पार्टीले भनेकै छ,’ सानेपामा बैठक कक्षबाट बाहिरिँदै लेखकले भने, ‘कांग्रेसको नेतृत्वमा सरकार बनाउन अहिले नै अवस्था परिपक्क भइसकेको छैन ।’
त्यस्तै पार्टीको क्रियाशील सदस्यताको काम टुंग्याउने प्रक्रियाका विषयमा पार्टीभित्र छलफल गर्नै बाँकी रहेको पनि बताए ।