झनै पेचिलो बन्दै एमाले विवाद: दुवै समुहका आफ्नै अडान
काठमाडौँ- नेकपा एमालेभित्रको विवाद झनै पेचिलो बन्दै गैरहेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले विद्रोही समूहका नेताहरूलाई सोधेको स्पष्टिकरणको जवाफ नेता नेपाल समुहले नफर्काउने भएपछि विवादले झनै उग्र रुप लिने देखिएको हो ।
नेपाल पक्षले ओली पक्षबाट आएको स्पष्टीकरण पत्रको कुनै पनि अर्थ नरहेको र स्पष्टिकरण नै नदिने बताइसकेका छन् । उता पार्टी कमिटी बैठक बोलाएरै कारबाही गर्ने तयारी गरेको ओली समूह यो खबरले थप आक्रामक बनेको छ ।
नेपाल समुहका केहि नेताहरूले लगातार ओली समूह अवैधानिक भएको भन्दै उनीहरूले डाकेको बैठक र गरेका निर्णय सबै अवैधानिक बताएउँदै आएका छन् ।
फागुन २८ गते ओलीले गरेका निर्णयहरु पार्टी विधान विपरीत, अराजक, अनुशासनहिन, मनपरी, निरङ्कुश र स्वेच्छचारी भएको नेताहरूले बताउने गरेका छन् ।
एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी हित विपरीत काम गरेको आरोप लगाउँदै नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई सोमबार स्पष्टीकरण मागेका छन्।
तीन दिनभित्र स्पष्टीकरणको जबाफ पेश गर्नसमेत पोखरेलले सम्बन्धित नेताहरुलाई निर्देशन दिएका थिए। पार्टी कार्यालयका सचिव ईश्वरी रिजालले तीन दिनभित्र जबाफ नआएको खण्डमा पार्टी विधान अनुसार नेताहरुलाई कारबाही प्रक्रिया अघि बढाउने दाबी गरेका छन् ।
चैत्र ७ सातमा ओलीले बोलाएको आफू पक्षीय केन्द्रीय कमिटी बैठकले नेपालसहित चारजना नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।
नेता भीम रावलले पनि नेपालकै शैलीमा स्पष्टीकरणको कुनै अर्थ नभएकाले त्यसको जबाफ नदिने स्पष्ट पारेका छन्। उनले अवैध केन्द्रीय कमिटीबाट गरिएको निर्णयका आधारमा स्पष्टीकरण सोध्दैमा आफूहरुले जबाफ नदिने बताए।
नेता घनश्याम भुसालले भने, ‘स्पष्टीकरण ओलीले हामीलाई दिनुपर्छ। विधान मिचेर काम गर्ने ओली? जबाफ दिने हामी?
यता तोकिएको समयमा स्पष्टिकरण नआएको खण्डमा कारबाहीको डण्डा बर्साउने तयारी ओली पक्षले गरेको छ । यसले मिल्न खोजेको समूह झनै आक्रामक बन्ने र पार्टी बिभाजन हुने पक्का देखिन्छ ।