अब म ओलीसंग अंकमाल गरेर फर्किएँ: वामदेव गौतम - Himal Post Himal Post
  • ३० मंसिर २०८२, सोमबार
  •      Mon Dec 15 2025
Logo

अब म ओलीसंग अंकमाल गरेर फर्किएँ: वामदेव गौतम



काठमाडौं- कतैपनि नलाग्ने र एमाले एकता गर्ने भन्दै अभियान थालेका एमाले नेता वामदेव गौतम एकाएक बालुवाटारको बैठकमा पुगेर आफूले अब प्रधानमन्त्री ओलीसंग अंकमाल गरेर फर्किएको बताएका छन् ।

प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डाकेको संसदीय दलको बैठकमा पुगेका गौतमले आफू सर्वोच्च अदालतको नेकपासम्बन्धि फैसलाले निकै खुशी भएको बताए । उनले निवेदकको माग भन्दा अगाडी बढेर सर्वोच्चले फैसला गर्दा एमाले जोगिएको समेत बताए।

नेकपा एमालेका उपाध्यक्ष समेत रहेका गौतमले भने, ‘सर्वोच्चले ऋषिराम कट्टेलको मागलाई मात्रै सम्बोधन गरेर नाम मात्रै फेरेको भए नेकपा न एकता, न विभाजन हुन्थ्यो ।’

गौतमले पुस ४ गते प्रधानमन्त्री ओली र पुष्पकमल दाहालबीचको वार्तामा आफू साक्षी रहेको भन्दै त्यो वार्ता दाहालको कमजोरीका कारण असफल भएको बताए। उनले आफू पार्टीको विघटन रोक्नका लागि प्रयत्नशील भएको र त्योबीचमा दाहालले गरेको थुप्रै प्रस्तावहरु आफूले रोकिदिएको दाबी गरे

प्रचण्डलाई आफूले पनि धेरै सम्झाउन खोजेको बताए । ‘मैले धेरै सम्झाउन खोजें, उहाँले मान्नु भएन । मैले पार्टी एकता कुनै हालतमा जोगाउनुपर्छ भनें,’ उनले भने । संसद् विघटन गर्ने र अविश्वासको प्रस्तावबारे थाहा नपाएको पनि गौतमले बताए ।

तर ओलीले संसद विघटनको तयारी गरेको र अर्को समूहले अविश्वासको प्रस्तावको तयारी गरेको बारे आफूलाई थाहा नभएको बताए। यदि त्यस्तो आफूले थाहा पाएको भए आफूले रोक्ने उनले बताए।

गौतमले सर्वोच्चको फागुन ११ गते आएको संसद पुनर्स्थापना गर्ने फैसलाले आफू खुसीले मातिएको र पछि निरास भएको सुनाए। उनले भने, ‘पछि मैले प्रधानमन्त्रीलाई राजीनामा दिनुस् भनेँ उहाँले दिनु भएन तर पार्टी एक बनाउछु भन्दा खुसी भएर अंकमाल गरेर फर्केँ।’