संसदीय दलको बैठकमा सहभागी हुन नेपाल समुहले राख्यो दुई शर्त
काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपालपक्षीय केही सांसदहरु पुगेका छन् । खनाल-नेपाल समूहले सो बैठक बहिस्कार गरेको छ ।
शनिबार बालुवाटारमा बसेको बैठकमा नेपालपक्षीय सांसदहरु सोम पाण्डे, यज्ञराज सुनुवार र जीवनराम श्रेष्ठ पनि आएको बताइएको छ । उनीहरुले आफूहरु खनाल-नेपालपक्षीय ३८ सांसदको मागपत्रसहित तीनजना आएको भन्दै बैठकमा मागपत्र पेस गरे । मागपत्र पेस गरेर उनीहरु बाहिरिएको बताइएको छ ।
नेपाल पक्षले आफ्नो पार्टीको संसदीय दलको बैठकमा सहभागी हुनका लागि दुई शर्तहरु अघि सारेको छ। शनिबार सिंहदरबारमा भएको यो पक्षको भेलामा तयार पारिएको शर्तसहित पत्र यो पक्षका तीन जना सांसद पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउन बालुवाटार पुगेका छन्।
सिंहदरबारको भेलामा सहभागी भएर बालुवाटार पुगेका सांसद जीवन राम श्रेष्ठले पार्टीको संसदीय दलको बैठकमा सहभागी हुने तर त्यो सिंहदरबार वा संसद भवन हुनुपर्ने र बैठकमा छलफल गरिने एजेण्डामा सहमति हुनुपर्ने शर्त ओलीसमक्ष राखिएको बताए।