कांग्रेसका दुई माग: ओलीले राजिनामा देउ, एसिड विधेयक ल्याउ - Himal Post Himal Post
  • १२ फाल्गुन २०८२, मंगलवार
  •      Tue Feb 24 2026
Logo

कांग्रेसका दुई माग: ओलीले राजिनामा देउ, एसिड विधेयक ल्याउ



काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेको छ। कांग्रेसले प्रधानमन्त्री ओलीको नैतिकता भए तत्काल ओलीले राजिनामा दिनुपर्ने बताएको छ ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले नैतिकताका आधारमा प्रधानमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने बताएका हुन्।

उनले भने, ‘विशिष्ट परिस्थितिमा संसद् बैठक बसिरहेको छ। सरकारले शक्ति पृथकीकरणको सिद्धान्ताम धावा बोल्न खोजेको थियो। संसद् विघटन गरेर असंवैधानिक काम गरेको थियो। त्यसलाई सर्वोच्च अदालतले खारेज गरिदियो। प्रधानमन्त्रीले यसको नैतिक उत्तरदायित्व लिनु पर्दैन ? मार्गप्रशस्त गर्नु पर्दैन ?’

प्रधानमन्त्रीले गल्ती महसुस गरेर नैतिक उत्तरदायित्व लिनुपर्ने र यो कुरामा संसदले पनि ध्यान दिनुपर्ने उनले बताए। ‘संविधानको प्रावधानविपरीत संसद् विघटन गरेको थियो सरकारले। कांग्रेसले सुरुमै यसलाई असंवैधानिक र अलोकतान्त्रिक भनेको थियो। देशभर नै विरोध पनि गरेको हो संविधानको रक्षाका लागि,’ खाँडले भने।

अहिलेको सरकार बनेदेखि नै संविधानमाथि प्रहार गर्न उद्दत रहेको आरोप उनले लगाए। ‘मौलिक अधिकारको मूल मर्म विचार र अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार हुँदै आएको छ,’ खाँडले भने।

बहुदलीय लोकतान्त्रिक संसदीय व्यवस्थाबाट निर्माण भएको संसद्‌को भूमिकालाई गतिशील बनाउने सरकारको दायित्व भएको उनले बताए। उनले भने, ‘एसिड आक्रमणलगायत विधेयकहरु ल्याएर सदनमा छलफल गराइयोस्।’