नेपाल पक्षको प्रस्ताव प्रधानमन्त्री ओलीले गरे अस्विकार
काठमाडौं- प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २८ गते गरेको पार्टी निर्णय फिर्ता लिन अस्विकार गरेका छन् ।
नेता माधवकुमार नेपाल समूहसँग धुम्बाराहीमा भएको लामो समयपछिको वार्तामा दुवै पक्षले आफ्ना कुरा राखेपनि प्रधानमन्त्री ओलीले त्यो निर्णय फिर्ता गर्न अस्विकार गरेपछि वार्ता निष्कर्षबिहिन बनेको छ ।
नेपाल समुहले निर्णय फिर्ता गर्ने अडान राख्दा ओलीले भने फिर्ता नगर्ने अडान राखेका थिए । यससंगै प्रधानमन्त्री ओलीले नेपाल समूहले बोलाएको राष्ट्रिय कार्यकर्ता भेला स्थगन गर्न भनेका थिए । यो बिषयमा छलफल हुँदा बैठकमा नेपाल पक्षले २८ गते बसेको भनिएको केन्द्रीय कमिटीको बैठकको निर्णय फिर्ता लिएको घोषणा हुनुपर्ने सर्त अघि सारेको थियो ।
“आफूले गरेको काम गरिहाल्ने, विधानअनुरुप भए हुने अरुले मानिदिनुपर्ने भन्ने कुरा हामीलाई स्वीकार्य हुँदैन,” छलफलपछि पत्रकारहरुसँग कुरा गर्दै नेता भीम रावलले भने, “२८ गतेको निर्णय रद्ध गर्नुपर्छ । २८ गतेको भनिएको निर्णय स्थगित भयो भने हामी राष्ट्रिय भेला स्थगित गर्न तयार छौँ भन्ने धारणा राख्यौँ तर उहाँ तयार हुनुभएन ।”
वार्ता फेरी बस्नेगरी आजको लागि सकिएको छ भने समय भने तोकिएको छैन ।