ओली-नेपाल समूहको वार्ता सकियो: नेपाल समुहले जनायो आपत्ति
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीचको वार्ता सकिएको छ । चार महिनापछि यी दुई समूह आमने सामने भएका थिए ।
पार्टी कार्यालय धुम्बाराहीमा दिउसो ११ बजेदेखि भएको वार्तामाप्रधानमन्त्री केपी शर्मा अोली र माधव नेपाल पक्षका नेताहरु सहभागी थिए ।
बैठकमा दुवै समुहले आ-आफ्नो अडान राखेको नेता रघुजी पन्तले बताए । प्रधानमन्त्री ओलीले राखेको पछिल्लो बैठक र निर्णयमा नेपाल समुहले आपत्ति जनाएको बताइएको छ ।
पार्टीमा ओलीले एकलौटी गरेको र आफूहरूलाई पेलेको भन्दै विद्रोहको तयारीमा रहेको नेपाल समूह र प्रधानमन्त्री समेत रहेका ओली समूहबीच विवाद समाधानको बिषयमा वार्ता भएको हो । पछिल्लो समय पार्टीमा देखा परेको विवाद समाधानका लागि दुवै पक्षका नेताहरु छलफलमा जुटेका हुन् ।
बैठकमा प्रधानमन्त्री ओली र माधव नेपाल, महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल, उपाध्यक्ष भीम रावल, उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल, सचिवद्वय गोकर्ण विष्ट र प्रदीप ज्ञवाली, नेताहरु सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ र रघुजी पन्त सहभागी थिए ।