बादल लगायत २३ जनालाई २४ घण्टे अल्टिमेटम
काठमाडौँ- नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले एमालेमा गएका २३ जनालाई स्पष्टिकरण सोधेको छ । शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले २४ घण्टाभित्र स्पष्टीकरण दिन भनेको छ ।
गृहमन्त्री रामबहादुर थापासहित मन्त्रीहरुलाई मन्त्रिपरिषद्बाट फिर्ता हुन निर्देशन दिएको माओवादीका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिए ।
पार्टीमा फिर्ता नभए सांसद पद खोस्ने प्रक्रिया सुरु गर्ने निर्णय बैठकले गरेको छ । माओवादी केन्द्रबाट अहिले सरकारमा गृहमन्त्री बादल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरी सरकारमा सहभागी छन् ।
शुक्रबार एमालेले रामबहादुर थापा ‘बादल’ सहित २३ माओवादी नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो । त्यस्तै, माओवादीसँग एकता गर्दा मनोनीत भएका ४२ जना स्वतः केन्द्रीय सदस्य भएका छन् ।
माओवादी केन्द्रको भोलि केन्द्रीय कमिटी बैठक बस्दैछ ।