ओलीविरुद्ध विद्रोह गर्ने र राष्ट्रिय भेला गर्ने नेपाल समुहको घोषणा
काठमाडौं- नेकपा एमालेको माधव नेपाल पक्षले केपी ओली पक्षको निर्णयविरुद्ध सशक्त रुपमा विरोध गर्न देशभरका नेता–कार्यकर्तालाई आव्हान गर्ने निर्णय गरेको छ।
आज बसेको सो समूहको आकस्मिक स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता भीम रावलले ओलीको स्वेच्छाचारी निर्णयविरुद्ध एमालेका देशभरका नेता–कार्यकर्तालाई विरोधमा उत्रन आव्हान गरेको जानकारी दिए।
बैठकले संगठित रुपमा एकताबद्ध भएर कम्युनिष्ट आन्दोलन र पार्टीका लागि अग्रसर हुन पनि नेता कार्यकर्तालाई आग्रह गरेको हो।
नेता रावलले अब छिट्टै राष्ट्रिय भेला गर्ने र त्यसका लागि गृहकार्य गर्ने निर्णय गरेको बताए। बैठकले बालुवाटारको निर्णयलाई अवैध भन्दै त्यसप्रति खेद व्यक्त गरेको छ।
‘नेकपाको एकतालाई भंग गरेर नपुगेर एमालेलाई समेत फुटाउने दुराशय राखेर यो काम गरेको हुनुपर्ने निष्कर्ष बैठकले निकालेको छ,’ नेता रावलले भने, ‘यो अनधिकृत, गुटगत र स्वेच्छाचारी कामको विरोध गर्छौं, अस्वीकार गर्छौं।’
पार्टी अध्यक्ष भएको व्यक्तिले खुलेआम विधान मिचेर जसलाईं मन लाग्यो त्यसलाई राख्ने र जसलाई मन लागेको छैन,त्यसलाई हटाउने कार्यजत्तिको निर्लज्ज अरु हुन नसक्ने रावलले बताए।
उनले झट्ट हेर्दा एमालेमा मात्र भएजस्तो लागे पनि यो लोकतन्त्रमाथिको प्रहार भएको र अहिलेसम्मका उपलब्धिलाई समाप्त पार्ने योजना भएको बताए।
प्रधानमन्त्रीनिवास बालुवाटारमा शुक्रबार भएको ओलीपक्षीय केन्द्रीय कमिटी बैठकले माधव नेपाल पक्षलाई कारबाही गर्दै प्रदेश इन्चार्ज, प्रदेश अध्यक्ष तथा सचिव र विभागहरुको जिम्मेवारी हेरफेर गरेको थियो।