एमालेमा गएपछि बादल र भट्ट मालामाल - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

एमालेमा गएपछि बादल र भट्ट मालामाल



नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा गएपछि रामबहादुर थापा बादल र लेखराज भट्टलाई चिट्ठा परेको छ । एमाले ओली पक्षले डाकेको बैठकले माधव नेपाल समुहका सबै नेताहरूको पद खोसेको छ भने बादल र भट्टलाई ठुलो जिम्मेवारी दिएको छ ।

शुक्रबार बालुवाटारमा बसेको एमाले ओली पक्षीय केन्द्रीय कमिटी बैठकले देशका सातै प्रदेश इन्चार्ज तोकेको छ। प्रधानमन्त्री निवासमा शुक्रबार दिउँसो बसेको बैठकले प्रदेश इन्चार्ज तोकेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

एमाले केन्द्रीय सदस्य थापाका अनुसार प्रदेश १ मा सुवासचन्द्र नेम्वाङ, प्रदेश दुईमा सत्यनारायण मण्डल, बागमतीमा रामबहादुर थापा (बादल), प्रदेश चारमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा यमलाल कँडेल र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टले इन्चार्जको जिम्मेवारी पाएका छन्।

बैठकले संगठन विभाग प्रमुख विष्णु पौडेललाई तोकेको छ। विदेश विभाग प्रमुख डा. राजन भट्टराई बनेका छन्। प्रचार विभाग प्रमुख एवम् प्रवक्ता प्रदीप ज्ञवालीले भएका छन्। स्कूल विभाग प्रमुख केपी ओली आफैं बसेका छन्।

यो बैठकले अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारी पद खारेज गरेको छ। एमालेको दशौँ महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्म हुने भएको छ। अब एमालेको पदाधिकारीमा अध्यक्ष केपी शर्मा ओली र महासचिव इश्वर पोखरेल मात्रै कायम भएका छन्।