नेकपा एमालेमा भाँडभैलो - Himal Post Himal Post
  • १२ फाल्गुन २०८२, मंगलवार
  •      Tue Feb 24 2026
Logo

नेकपा एमालेमा भाँडभैलो



काठमाडौं- सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी(एमाले) पुनर्स्थापित गरेपछि पार्टीमा भाँडभैलो देखिएको छ ।

ओलीपक्षले औपचारिक बैठक नै नडाकी, माधव नेपाल पक्षलाई थाहै नदिई महत्वपूर्ण निर्णय गरेपछि अन्तसंघर्ष चर्किएको छ ।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू बलियो बन्ने गरि वरिष्ठ नेता माधव कुमार नेपाल झलनाथ खनाल पक्षलाई बाइपास गर्दै अघि बढ्ने निर्णय गरेपछि एमालेमा आन्तरिक विवाद उत्कर्षमा पुग्ने देखिएको हो ।

शुक्रवार(आज) बालुवाटारमा आफू पक्षीय केन्द्रीय सदस्यहरुको बैठक राखेर ओलीले एकलौटी निर्णय गराएका हुन् ।

ओलीले नेता नेपाल पक्षलाई जानकारी र कुनै सल्लाहविना नै २३ जना सदस्य मनोनित गरेका छन् ।

उक्त बैठकले माओवादी केन्द्रमा रहेका २३ जनालाई केन्द्रीय सदस्य बनाएको हो ।

त्यस्तै बैठकले माधव नेपाल विदेश विभाग प्रमुख रहेको स्थानमा राजन भट्टराईलाई नियुक्त गरेको छ । उनी प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार पनि हुन् ।

त्यस्तै सुदूरपश्चिम प्रदेश इन्चार्जमा भीम रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ ।

बैठकले कर्णाली प्रदेश इन्चार्जमा युवराज ज्ञवाली हटाएर यमलाल कँडेललाई तोकेको छ ।

बागमती प्रदेश इन्चार्जमा नेपाल पक्षकी अष्टलक्ष्मी शाक्यलाई हटाएर ईश्वर पोखरेललाई जिम्मेवारी दिइएको छ भने प्रदेश १ मा भीम आचार्यलाई हटाएर सुवास नेम्वाङलाई जिम्मेवारी दिएको छ ।

बैठकले पार्टीको प्रवक्तामा प्रदीप ज्ञवालीलाई तोकेको छ ।

आइतबारका लागि बोलाइएको केन्द्रीय कमिटी बैठक अघि ओली पक्षले गरेको यो निर्णयले अब नेकपा एमालेको राजनीतिक कतातर्फ जाने हो भन्ने प्रश्न उव्जिएको छ ।