भर्‍याङ मात्रै नबन्ने, अब सरकारको नेतृत्व लिने: जसपा - Himal Post Himal Post
  • २२ माघ २०८१, मंगलवार
  •      Tue Feb 4 2025
Logo

भर्‍याङ मात्रै नबन्ने, अब सरकारको नेतृत्व लिने: जसपा



काठमाडौं- जनता समाजवादी पार्टीका सांसदहरुले आफ्नो पार्टीले सरकारको नेतृत्व लिन तयार हुनुपर्ने भन्दै अरूलाई सहयोग मात्रै गर्न नसकिने बताएका छन् ।

शुक्रबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको जसपाको बैठकमा सांसदहरुले सरकारको नेतृत्व लिन तयार हुनुपर्ने धारणा राखेका हुन् । बैठकपछि जसपाका सांसद राजकिशोर यादवले अहिलेसम्म अरु पार्टीले आफूहरुलाई भर्‍याङ बनाएको र अब भने सरकारको नेतृत्व लिन तयार हुनुपर्नेमा जोड दिएको बताए ।

“हामी नेतृत्व लिन तयार छौं । अहिलेसम्म सहकार्य गर्दा हिजो अरु दलले हामीलाई उपयोग गरे । हामी सह-अस्तित्व सहकार्यको सिद्धान्तबाट अघि बढ्न तयार छौं,” उनले भने । त्यस्तै आफूहरुले उठाएको मुद्दा निष्कर्षमा नपुग्दासम्म सत्ता समीकरणबारे निर्णय नगर्ने उनले बताए ।

“जबसम्म हामीले उठाएका मुद्दाका बारेमा निष्कर्षमा पुग्दैनौं । तबसम्म सत्ता समीकरणको बारेमा चर्चा गर्दैनौं,” उनले भने । सीके राउत र विप्लवको राजनीतिक मुद्दा समाधान गरेको भन्दै सरकारले रेशम चौधरीलाई नि:सर्त रिहाइ गर्नुपर्ने उनले बताए ।

जसपाले आफ्ना मुद्दाहरु समाधान र सरकारमा सहभागी हुनेबारे छलफलका लागि कार्यदल पनि गठन गरेको छ । बिहीबार जसपाका अध्यक्षद्वय महन्थ ठाकुर, उपेन्द्र यादव, वरिष्ठ नेता राजेन्द्र महतोलगायत नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा छलफल गरेका थिए ।

छलफल सकारात्मक रहेको दुवै पक्षको प्रतिक्रिया थियो । आज पनि जसपाले सरकारसँग वार्तालाई निरन्तरता दिँदै छ ।

त्यस्तै जसपाले आजै सत्तासमीकरणका विषयमा कांग्रेससँग पनि छलफल गर्दै छ । सर्वोच्चले नेकपा नाम विवादको मुद्दामा फैसाला गर्दै सत्तारुढ दललाई नेकपा एमाले र माओवादी केन्द्र साबिककै अवस्था कायम गरिदिएपछि जसपाले सक्रियता बढाएको छ ।