अध्यक्ष ओलीले डाके एमाले केन्द्रीय कमिटी बैठक
काठमाडौं । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले एमाले केन्द्रीय कमिटी बैठक बोलाएका छन् ।
अध्यक्ष ओलीको परामर्शमा महासचिव ईश्वर पोखरेलले चैत १ गतेका लागि पार्टीको केन्द्रीय कमिटी बैठक बोलाएका हुन् ।
सर्वोच्च अदालतले एकीकरण बदर गर्दै एमाले र माओवादी केन्द्रलाई अलग्याइदिएपछि पहिलो पटक एमालेको केन्द्रीय समितिको बैठक बस्न लागेको हो ।
बैठकमा पछिल्लो राजनीतिक परिस्थितिका साथै पार्टी सुदृढीकरणका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।
एमाले व्युँतिएपछि पनि पार्टीका नेताहरुबीच सम्वादहीनताको अवस्था छ । खासगरी माधव नेपाल पक्षले आफूहरुसँग छलफल र सल्लाह नगरी अध्यक्ष केपी शर्मा ओली अघि बढेको गुनासो गर्दै आएको छ ।
केन्द्रीय कमिटीको बैठकले आन्तरिक विवाद समाधान गर्दै पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने र अन्य पार्टीबाट आएकाहरुलाई उचित जिम्मेवारी दिन नेतृत्वलाई म्यान्डेट दिने अपेक्षा गरिएको छ ।
केन्द्रीय कमिटीमा अध्यक्ष ओली स्पष्ट बहुमतमा छन् । ओली पक्षीय नेता सुवास नेम्वाङले माओवादी केन्द्रको धारमा लागेर सरकारविरुद्ध आन्दोलन गरेका माधव नेपाल र झलनाथ खनाल पक्षलाई पार्टीमा सम्मानजनक व्यवहार हुने बताएका छन् ।