माओवादीले सरकार छाड्ने: राजीनामा नदिने मन्त्रीलाई कारबाही गर्ने
काठमाडौं- नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । सर्वोच्च अदालतले नेकपा खारेज गर्दै पूर्ववत रूपमा पार्टी पुनर्स्थापना गरेपछि परामर्शमा जुटेको माओवादी केन्द्रले यस्तो तयारी गरेको हो ।
सरकारलाई दिएकोसमर्थन फिर्ता लिएसँगै आफ्नो पार्टीबाट मन्त्री भएकालाई फिर्ता बोलाउने समेत तयारी थालेको बताइएको छ । फिर्ता बोलाउनेबारे कानूनी प्रक्रिया मिलाउन पार्टीका प्रमुख सचेतक देव गुरुङ र वर्षमान पुनलाई जिम्मा दिइएको छ ।
देव गुरुङ र वर्षमान पुनले प्रक्रिया पुरा गरी केन्द्रीय कमिटीमा राय प्रस्तुत गर्ने बताइएको छ । १ गते बस्ने केन्द्रीय समिति वैठकले यस विषयमा निर्णय लिने बताइएको छ ।
ओली नेतृत्वको सरकारमा माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने ५ जना मन्त्री छन् । सर्वोच्चको फैसलापछि एमाले र माओवादी ब्यूँतिए पनि उनीहरु एमालेमै बस्ने भएपछि माओवादीलाई झनै अफ्ठ्यारो परेको छ ।
पार्टीको निर्देशनपछि राजीनामा नदिने मन्त्रीलाई कारवाही गर्ने तयारी माओवादीले गरेको छ । तर उनीहरुले आफ्नो पद गए पनि ओलीको साथ नछोड्ने बताइरहेका छन्
गृहमन्त्री रामबहादुर थापा बादल, उर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, सहरी विकास मन्त्री प्रभु साह र खानेपानी मन्त्री मणी थापा अहिले सरकारमा छन् ।