भिम रावललाई नेता नमान्ने
काठमाडौं- सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्यूँताएपछि एमालेका कार्यकर्ताहरुले धमाधम कार्यालय र साइनबोर्ड राख्न थालेका छन् ।
नेमप्लेट र बोर्ड राख्ने विषयमा सुदुरपश्चिम प्रदेश एमालेमा भने भाँडभैलो मच्चिएको छ । भीम रावललाई ईञ्चार्ज नमान्ने भन्दै केपी शर्मा ओली पक्षका कार्यकर्ताहरुले असन्तुष्टी जनाएका छन् ।
पार्टी सिध्याउने खेलमा लाग्ने रावललाई नेता मानेर जान नसकिने भन्दै उनीहरुले नेमप्लेट नै तोडफोड गरेका छन् ।
एमाले प्रदेश अध्यक्ष कर्ण थापाले पार्टी समाप्त पार्न भूमिका खेल्ने रावललाई नेतृत्व स्वीकार्न नसकिने स्पष्ट पारेका छन् । उनले आफूहरुले लेखराज भट्टलाई मात्रै नेता मान्ने बताए ।
उनले भने, ‘अदालतले पार्टी पुनःस्थापित गरेको हो । व्यक्ति को राख भनेको छैन । पार्टी समाप्त पार्न भूमिका खेल्ने त भीम रावल हुन् । अराजकहरूको नेतृत्व स्वीकार्न सकिँदैन । हाम्रो नेता लेखराज भट्ट नै हो ।’
अध्यक्ष थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तपाई कुन पार्टीको हो ? भन्दै प्रश्न गर्ने व्यक्ति माओवादी केन्द्रमा गए हुन्छ भन्दै आक्रोश व्यक्त गरेका छन् ।
‘हिजो–अस्ति सुन्नुभएन, उनले प्रधानमन्त्रीलाई तिम्रो पार्टी कुन हो ? भन्दै सोध्दै थिए । त्यस्ता व्यक्तिलाई कसरी नेता मान्नू ! उनी प्रचण्डसँग गए हुन्छ । माओवादी केन्द्र भए हुन्छ । एमाले कायम हुने कुनै अधिकार छैन । हक छैन’, उनले भने ।
गत पुस ५ गते संसद विघटन भएपछिको विकशित राजनीतिक घटनाक्रमपछि प्रधानमन्त्री ओलीले आफू पक्षका भट्टलाई ईञ्चाजृको भूमिका दिएका थिए । अदालतले नेकपा एमाले नै ब्युँताइदिएपछि पनि भट्ट नै नेता भएको उनको निष्कर्ष छ । यद्यपि, एकतापूर्व एमालेको सुदूरपश्चिम कमिटी इन्चार्ज रावल नै थिए ।