ओलीविरुद्ध बिद्रोह गर्ने नेपाल समुहको तयारी - Himal Post Himal Post
  • २२ माघ २०८१, मंगलवार
  •      Tue Feb 4 2025
Logo

ओलीविरुद्ध बिद्रोह गर्ने नेपाल समुहको तयारी



काठमाडौँ- नेकपा एमालेको नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध बिद्रोह गर्ने संकेत देखाएको छ ।

ओली समूहले मुलुकभर गरिरहेको पार्टी कार्यालय क्याप्चर, गुण्डागर्दी र जबरजस्तीको कडा प्रतिवाद गर्नेगरि तयारी गरिरहेको नेपाल समुहमा यस्तो संकेत देखिएको छ ।

समूहको बुधबार बानेश्‍वरमा बसेको बैठक जिल्ला जिल्लामा भइरहेको पार्टी कार्यालय कब्जाको कडा प्रतिवाद गर्ने निष्कर्षमा पुगेको सचिव भीमप्रसाद आचार्यले जानकारी दिए । ‘पार्टीभित्र जिल्ला-जिल्लामा पार्टी कार्यालय कब्जा गर्ने, गुटबन्दी गर्ने, जबरजस्ती समानान्तर क्रियाकलाप गर्ने जुन गतिविधि भइरहेका छन्,’ सचिव आचार्यले भने, ‘त्यसको कडा प्रतिवाद हुन्छ । हामी त्यस्तो निष्कर्षमा पुगेका छौं ।’

अध्यक्ष ओली समूहले नियोजित रूपमा यस्ता क्रियाकलाप गरिरहेको यो समूहको निष्कर्ष छ । ‘आफूले गरिरहेको प्रतिगामी हर्कतलाई स्थापित गर्न संस्थापनबाट जबरजस्ती गर्ने कार्य भएपछि कसरी अगाडि बढ्ने भनेर हामी छलफलमा बसेका थियौं,’ आचार्यले भने, ‘भोलिसम्म हामीले औपचारिक निष्कर्ष नै निकाल्छौं । आजको बैठकमा हामी नियोजित रूपमा नै यसो गरिएको हो भन्नेमा पुगेका छौं ।’

नेपाल समूहले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले सरकार टिकाउन मद्दत नै नमागेको भन्दै मागेमा सहयोग गर्ने बताएको छ । बैठकमा सरकार टिकाउन सहयोग मागेमा मात्रै मद्दत गर्ने भन्‍ने कुरा भएको आचार्यले बताए । ‘सरकार टिकाउन सरकार आफै लाग्नुपर्छ । हाम्रो मद्दत मागेमा हामीले सहयोग गर्ने हो,’ आचार्यले भने, ‘अहिलेसम्म मद्दतै मागिएको छैन, नमागी के सहयोग गरिरहनु पर्‍यो र ।’