जसपा र माओवादीबीच मिलेन कुरा
काठमाडौँ- सत्ता समीकरणका विषयमा नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी(जसपा)बीच भएको छलफल विनानिष्कर्ष सकिएको छ । बुधबार अपरान्ह माओवादी पार्टी कार्यालय पेरिसडाँडामा भएका दुई पार्टीका नेताहरूको छलफलमा कुनै सहमति नभएको जसपा वरिष्ठ नेता राजेन्द्र महतोले जानकारी दिए ।
‘हामीले जसले हाम्रा मुद्दा सम्बोधन गर्ने लिखित प्रतिबद्धता जनाउँछ । उसैलाई सहयोग गर्छौं, उधारो सहमतिमा सहयोग गर्दैनौं भन्यौं,’ महतोले भने, ‘उहाँहरूले सहयोग गर्छौ भन्नुभयो । तर, ठोस कुरा केही नभएकाले बैठक कुनै निष्कर्षमा पुगेन ।
जसपाले पार्टीका निलम्बिन सांसद रेशम चौधरीको रिहाइ, २०४८ सालको निर्वाचनमा मतदाता नामावलीमा नाम रहेका सबै र उनीहरूका सन्ततीलाई नागरिकता दिइनु पर्ने तथा जलेश्वर घटनामा थुनामा राखिएका नेता कार्यकर्तालाई बिनासर्त रिहा गर्नु पर्ने माग राखेको छ ।
आफूहरुले लिखित प्रतिबद्धता खोजेपनि त्यो माओवादीबाट आउने अवस्था आजको वार्तामा नदेखिएको महतोले बताए । ‘हामीले ठोस प्रतिबद्धता खोजेका थियौं । तर, उहाँहरूबाट त्यो प्रतिबद्धता आएन । हाम्रो अर्को पक्षसँग पनि कुरा भइरहेको छ । जसले हाम्रा माग पूरा गर्छ, हामीले त्यसैलाई सहयोग गर्छौं,’ महतोले भने ।
माओवादीले गठबन्धन सरकार निर्माणका लागि स्थायी समिति बैठकबाट निर्णय गरेर दलहरूसंग छलफल गरिरहेको छ । अध्यक्ष पुष्पकमल दाहालले हिजो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सत्ता समीकरणका विषयमा छलफल गरेका थिए । हिजै उनले जसपा संघीय परिषद् अध्यक्ष पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग पनि छलफल गरेका थिए ।