अविश्वास प्रस्तावबाट पछि हट्यो प्रचण्ड-नेपाल समूह
काठमाडौं- आइतबार ४ बजे बोलाइएको पुनर्स्थापित प्रतिनिधिसभाको बैठकअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पेश हुने भनिएको अविश्वास प्रस्ताव तत्काल दर्ता नहुने भएको छ ।
विभाजित नेकपाका प्रचण्ड-नेपाल समूहले पहिले प्रधानमन्त्री ओलीलाई राजिनामा दिन समय दिने र आग्रह गर्ने भन्दै पछि हटेपछि अविश्वास प्रस्ताव तत्कालका लागि टरेको स्रोतले बताएको छ ।
उता नेपाली काँग्रेसले शनिबार दिनभरि प्रस्तावमाथि माननीयहरुको दस्तखत गराउन गरेको दौडधुप आइतबार एक्कासी ब्रेक लागेको बताइएको छ ।
एकातिर प्रधानमन्त्री ओली निकट सांसदहरू सभामुख अग्नि सापकोटाको वुरुद्धमा खरो उत्रने संकेत देखिएको र अविश्वास प्रस्ताव अघि बढाउने भन्दै काँग्रेसले औपचारिक निर्णय नगरी अनिर्णयको बन्दी बनेपछि प्रस्ताव रोकिएको हो ।
नेकपाको माधव–प्रचण्ड खेमामा सँसदीय दलभित्र बहुमत हुँदाको अवस्थामा समेत संसदीय दलको नेताले पाउने वैधानिकताको प्रश्न पेचिलो बनेको छ ।
एकातिर काँग्रेसको अनिर्णय र अर्कातिर उक्त समूहमा संसदीय दलको नेताको वैधानिकताको प्रश्नले आजै दर्ता हुने भनिएको अविश्वासको प्रस्तावको सम्भावना कम हुँदै गएको हो ।