खुमलटार र बालुवाटारमा छुट्टाछुट्टै बैठक: बिहानैदेखि जुटे नेताहरू
काठमाडौं- आइतबार दिउसो ४ बजे बस्न लागेको पुनर्स्थापित प्रतिनिधिसभाको बैठकअघि बिहानैबाट नेकपाका दुई पक्षले तयारी तिब्र पारेका छन् ।
यसै क्रममा अहिले प्रचण्ड निवास (खुमलटार) मा प्रचण्ड–नेपाल पक्षको सचिवालय बैठक बसिरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले चाल्न सक्ने रणनीति असफल पार्ने विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिएका छन्।
उता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पनि बिहानैदेखि छलफल भइरहेको स्रोतले जनाएको छ। स्रोतका अनुसार प्रधानमन्त्री ओली भेट्न बिहानै सञ्चारमन्त्री पार्वत गुरुङलगायत मन्त्री तथा सांसद पुगेका हुन्।
बालुवाटारमा बिहानै सांसद तथा मन्त्रीहरू छिरेका छन् । बिहान प्रधानमन्त्रीलाई भेट्न गएकाहरूमा सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङलगायतका सात जना छन् । हिजोको संसदीय दलको बैठकमा अनुपस्थित भएका केही सभासदसमेत उपस्थिति जनाउन बालुवाटार पुगेको स्रोतको दाबी छ ।
यसअघि शनिबार राति पनि बालुवाटारमा ओली समूहको संसदीय दलका पदाधिकारीसहितका नेताबीच छलफल भएको थियो। आज सुरु हुने संसद् बैठकमा सभामुख अग्नि सापकोटा प्रचण्ड–नेपाल पक्षलाई दलको मान्यता दिने गरी अघि बढे प्रतिवाद गर्ने विषयमा छलफल भएको एक नेताले जानकारी दिएका छन्।
हिजो अनुपस्थित भएका केही सांसदले बालुवाटार पुगेर दस्तखत गरेपछि प्रधानमन्त्रीले राजीनामा नदिने सम्भावना बढेको छ ।