संसदमा आजः कि मुठभेड कि अधिवेशन अन्त्य
काठमाडौं- प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदम खारेज गर्दै सर्वोच्च अदालतले १३ दिनभित्र बोलाउन दिएको परमादेशअनुसार आजदेखि प्रतिनिधिसभाको अधिवेशन सुरु हुँदै छ ।
तर प्रधानमन्त्रीको सिफारिसमा आजै रातीदेखि संसद अधिवेशन अन्त्य हुन सक्ने आशंका पनि गरिएको छ । प्रधानमन्त्रीले राजिनामा नदिए आफूविरुद्ध अविश्वासको प्रस्ताव पेश हुन सक्ने भएपछि सरकारले विजनेश नदिएपछि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले अधिवेशन नै अन्तय गर्ने सम्मको तयारी भएको बुझिएको छ ।
पाँच वर्षका लागि निर्वाचित प्रतिनिधिसभाको कार्यकाल दुई वर्ष बाँकी रहँदै प्रधानमन्त्री ओलीले विघटन गरिदिएका थिए । तर सर्वोच्च अदालतले पुनर्स्थापना गरिदिएपछि संसद् अधिवेशन सुरु हुन लागेको हो ।
संसद् पुनर्स्थापनापछि पनि नैतिकताका आधारमा राजीनामा नदिएका ओली आफैँले विघटन गरेको संसद्बाट विरोधीसँग टकराव गर्ने मनस्थितिमा छन् । तर अहिलेसम्म प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव अगाडि बढाउने विषयमा ठोस सहमती भएको छैन ।
दुई अधिवेशनबीचको अवधि ६ महिनाभन्दा धेरै हुन नहुने संवैधानिक व्यवस्थाअनुसार पुस १७ मै संसद् बैठक सुरु हुनुपर्ने थियो । तर, १२ दिनअघि नै प्रधानमन्त्री ओलीले गत पुस ५ मा संसद् विघटन गरेपछि सातौँ अधिवेशन बस्न सकेको थिएन । तर, सर्वोच्च अदालतले फागुन ११ मा प्रधानमन्त्री ओलीको कदम असंवैधानिक ठहर गरेपछि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिपति विद्यादेवी भण्डारीले आजका लागि बैठक आह्वान गरेकी थिइन् ।
प्रतिनिधिसभा बैठकमा विभाजित नेकपाको ओली तथा प्रचण्ड–नेपाल समूह परस्पर विरोधी तयारीमा देखिएपछि संसद् सञ्चालनसमेत प्रभावित हुने अवस्था देखिएको छ । प्रमुख प्रतिपक्षी कांग्रेस नेकपा विभाजनको कानुनी निरुपण नभएसम्म रिजर्भमा बस्ने तयारीमा छ । नेकपाको दुवै समूह सत्तापक्षको एउटै रोमा आमुन्ने–सामुन्ने रूपमा खडा हुने तयारीमा रहेका वेला सभामुख अग्निप्रसाद सापकोटालाई दुवै समूहको सहमतिमा सदन सञ्चालन गर्ने चुनौती खडा भएको छ ।
सभामुखले प्रचण्ड–माधव पक्षलाई दलको मान्यता दिने गरी अघि बढे प्रतिवाद गर्ने ओली पक्षको रणनीति छ ।