ओली समुहको बैठकमा ११५ सांसद उपस्थित
काठमाडौं- नेकपा ओली समूहको संसदीय दलको बैठकले ११५ भन्दा बढी सांसद सांसद उपस्थित भएको दाबी गरेको छ ।
प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा शुक्रबार बसेको बैठकमा प्रतिनिधिसभाका ९१ र राष्ट्रिय सभाका २४ सदस्य उपस्थित भएको राष्ट्रिय सभाका नेकपाका एक नेताले बताए । प्रधानमन्त्री ओलीले भोलि यो संख्या बढ्ने बताएका छन् ।
ओली समूहले बैठकमा सहभागी हुन प्रचण्ड–माधव समूहका सांसद र एकता अभियान सञ्चालन गरिरहेका वामदेव गौतमलाई पनि निम्तो दिएको थियो । तर उनीहरू सहभागी भएनन् ।
यसअघि शुक्रबार नेकपा प्रचण्ड–माधव समूहको संसदीय दलको बैठक बसेको थियो । बैठकमा १११ (बहुमत) सांसद उपस्थित भएका थिए । सो समूहले चार जना सांसद बाहिर रहेको बताएका छन् । बैठकले प्रचण्डलाई संसदीय दलको नेतामा चयन गरेको थियो ।
गत ५ पुसमा प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभा भंग गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ । प्रतिनिधिसभा भंग गर्ने निर्णय असंवैधानिक भन्दै सर्वोच्च अदालतले पुनर्स्थापना गरिदिएको छ ।