ओली र गौतमको अर्थपूर्ण भेट
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै समूहमा नखुलेका एकता अभियानका संयोजक वामदेव गौतमलाई उनकै निवासमा पुगेर अर्थपूर्ण भेट गरेका छन् ।
विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिमा ल्याएकै दिन प्रधानमन्त्री केपी शर्मा ओली नेकपा उपाध्यक्ष समेत रहेका गौतमलाई भेट्न भैंसेपाटी स्थित निवासमै पुगेर भेटेका छन्।
प्रचण्ड–माधव समूहले नेकपा विभाजनको कानुनी मान्यताका लागि निर्वाचन आयोगमा ताकेता गरिरहेका बेला पार्टी एकताको अभियान चलाइरहेका गौतमलाई भेट्न ओली भैंसेपाटी पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने गौतम घरभित्रै लडेर सामान्य चोटपटक लागेको खबर पाएपछि प्रधानमन्त्री ओली स्वास्थ्यस्थिति बुझ्न गएको जानकारी दिए। शुक्रबारमात्रै प्रचण्ड–माधव पक्षले ओलीलाई दलको नेताबाट हटाएको घोषणा गर्दै प्रचण्डलाई नेता चयन गरेको छ। तर एकता अभियानमा लागेका गौतमलाई नेता ओलीले यसबेला भेट्न जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
हुन त गौतमले यसबीचमा बालुवाटारमै पुगेर ओलीलाई भेटेका थिए। ओली केही महिना अघि पनि सपरिवार गौतम निवास पुगेका थिए। ओलीसँगै सुवास नेम्वाङ, शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठ सल्लाहकार द्वय बिष्णु रिमाल र राजन भट्टराई लगायत नेताहरू गौतम निवास पुगेका हुन्।