प्रचण्ड भन्छन्: ओलीले अर्कै बाटो हिड्न बाध्य पारे
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् पुनःस्थापनापछि पनि राजीनामा नदिएर आफूहरूलाई अर्कै बाटो हिड्न बाध्य पारेको नेकपा (प्रचण्ड नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।
दलको नेता चुनिएपछि प्रचण्डले अविश्वास प्रस्तावको बाटोमा लाग्न ओलीले नै बाध्य पारेको प्रचण्डले बताएका छन्। शुक्रबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले अब अविश्वास प्रस्तावबाट ओलीलाई हटाइने बताए।
‘ओलीले राजीनामा दिनुहुन्छ भन्ने लागेको थियो। तर, उहाँले अहिलेसम्म दिनुभएको छैन। अब दिनुभएन भने त हामी संविधान, संसद, कानुन नियमअनुसार जानुपर्ने हुन्छ,’ प्रचण्डले भने।
प्रधानमन्त्री ओलीले राजीनामा नदिएको कानुनबमोजिम अविश्वास प्रस्ताव ल्याउन बाध्य हुने उनको भनाइ थियो। प्रचण्डले भने, ‘उहाँले राजीनामा नदिएर त्यही बाध्य पार्नुभएको छ। त्यही बाटोमा जान्छौँ।’
अब प्रधानमन्त्री कसलाई बनाउने भन्ने विषयमा पनि छलफल भइरहेको उनले बताए। प्रचण्डले भने, ‘हामी सबै दलहरूसँग छलफलमा छौँ। सबै राजनीतिक दलहरु हिजो संसद् विघटनविरुद्ध आन्दोलन गर्नुभएको थियो। संसद् विघटनलाई असंवैधानिक भएर आन्दोलनमा लाग्नुभएको सबै दलहरूसँग छलफल र सहकार्य हुन्छ।’
विधि संवत् रुपमा आफूलाई संसदीय दलको नेता चयन गरेको उनले बताए। आधिकारिक पार्टी र संसदीय दलको नेता आफू भएकाले केपी गुटको पछि नलाग्न आग्रह समेत गरे।
बहुमत सांसदको बैकठले आफूलाई संसदीय दलको नेता चयन गरेको उनले बताए। ‘मुल पार्टी यही हो, संसदीय दल पनि यही छ,’ प्रचण्डले भने, ‘संसद् पुनःस्थापनापछि एक सय १५ जनाको हस्ताक्षरसहित दलको नेता चयन भएको हुँ।’
आज बसेको नेकपा संसदीय दलको बैठकले प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको छ। यसका लागि अर्का अध्यक्ष माधवकुमार नेपालले प्रस्ताव गरेका थिए भने नेत्री पम्फा भुषालले समर्थन गरेकी थिइन्।