यो सहमतिका पछाडि महान आकांक्षा छ: विप्लव
काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका प्रमुख नेत्रबिक्रम चन्दले सरकार र विप्लव पक्षबीच शुक्रबार भएको हस्ताक्षर समारोहमा सम्बोधन गर्दै यस सफलताका लागि दुवैतर्फलाई बधाई दिएका छन्।
उनले नेपाल सरकार र आफ्नो पार्टी दुवैका तर्फबाट भूमिका खेल्ने सबैलाई पनि धन्यवाद दिएका छन्।
नेकपा विप्लव र सरकार पक्षबीच शुक्रबार दिउँसो राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा सहमतिपत्रमा हस्ताक्षर भएको हो।
‘यस सहमति राज्य र नेकपाबीच मात्र होइन, यस सहमतिका पछाडि महान आकांक्षा छ, देशलाई सुन्दर देश बनाउने सपना छ,’ उनले भने।
‘नेपाली जनताको अहिलेसम्म पूरा नभएको सबै आकांक्षा र नेपाली जनताभित्र हुर्किएको सम्बृद्ध जीवनको चाहना लुकेको छ,’ उनले भने।
उनले यस क्रममा क्रान्तिकारी अग्रजहरुलाई पनि सम्झिए।
‘आजको दिनमा सहिदहरुले निश्चल सपना बोकेर, उत्कृष्ट आकांक्षा राख्दै नेपाली जनताको सुखद भविष्यका लागि जुन कामना गरेका थिए, त्यसलाई सम्झन चाहन्छु,’ उनले भने।
उनले सहिदको र नेपाली जनताको चाहना पूरा नभइसकेको उल्लेख गर्दै जुन उद्देश्य लिएर कम्युनिष्ट आन्दोलनमा सहभागी भएको हो, त्यसलाई पूरा गर्ने प्रतिबद्धता पनि जनाए।