नौ महिनामा दश करोड राजश्व, सेवाग्राहीलाई सास्ती उस्तै - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

नौ महिनामा दश करोड राजश्व, सेवाग्राहीलाई सास्ती उस्तै



झविन्द्र देवकोटा/ बुटवल । यातायात ब्यवस्था कार्यालय लुम्विनी अञ्चल (लाईसेन्स फाट) ले बितेको नौ महिनामा विभिन्न शिर्षकमा झण्डै दश करोड राजश्व उठाएतापनि सेवाग्राहीले भने दैनिक सास्ती खेप्दै आएका छन् ।

लाईसेन्स (सवारी चालक अनुमति पत्र) का लागि आवेदन दिन, नविकरण तथा प्रतिलिपी लिन र वर्ग थप गर्न जाने सेवाग्राहीले ठेलमठेल गरेरनै कार्यालयबाट सेवा लिनु पर्ने बाध्यतानै बनेको छ ।

यद्दपी कार्यालयले नयाँ लाईसेन्स, लाईसेन्स नविकरण, नयाँ÷डिजिटल आवेदन, प्रतिलिपी र सवारी वर्ग थप गरि वितेको नौ महिना ( गएको साउनदेखि चैत १ गते सम्म) मा ९ करोड ७१ लख ४२ हजार ५ सय रुपैया राजश्व उठाएको हो । तर सेवामा गुणस्तरीयता हुन नसक्दा सेवाग्राहीहरु सधै निराशनै हुनु परेको गुनासो छ ।

कार्यालयले भने कर्मचारी अभाव तथा कार्यालय ब्यवस्थापनमा देखिएका विभिन्न समस्याका कारण सेवाग्राहीलाई छिटोछरितो र सहज सेवा उपलब्ध गराउन नसकेको स्पष्ट पारेको छ ।

कार्यालय प्रमुख बेदप्रसाद अर्यालले दरबन्दी भन्दा आधा कर्मचारी भएका कारण सेवाग्राहीलाई सजिलरी सेवा दिन नसकेको सुनाउनुहुन्छ । कार्यालयमा २५ जनाको दरवन्दी रहेको तर अहिले मात्र १४ जना कर्मचारीले कार्यालयको दैनिक कार्य सम्पादन गर्दै आएको अर्यालको भनाई छ ।

अर्यालका अनुसार कार्यालयमा दुई शाखा अधिकृत, दुई नायव सुब्बा, चार खरिदार र दुई सह–लेखापाल सरुवा, बढुवा र अवकाश लिएका कारण उक्त पदका दश जना कर्मचारीको अभावमा कार्यालय चलेको छ ।

दश जना कर्मचारीको अभावमै कार्यालयको दैनिक कामकाज संचालन गर्नु पर्ने बाध्यता रहेको बताउनुहुने कार्यालय प्रमुख अर्यालले विभागबाट रिक्त रहेका कर्मचारीको पदपुर्ति नगरिएमा दैनिक कामकाजमा समेत असर पर्ने र ट्रायल तथा स्कुटरको रि–ट्रायल समेत प्रभावित हुन सक्ने बताउँछन् ।

कर्मचारीको अभावमा छिटोछरितो कार्यसम्पादन गर्न नसकेतापनि कार्यालयमा उपलब्ध आधा जनशक्तिले वितेको नौ महिनाको अवधिमा ९ हजार ८ सय २७ नयाँ लाईसेन्स वितरण गर्न सफल भएको उनले बताए ।

यस्तै कार्यालयले सोही अवधिमा वर्ग थप गरेका ७ सय ६९ लाईसेन्स वितरण समेत गरेको छ । त्यसैगरी २१ हजार ६० नविकरण र २ हजार ८६ वटा प्रतिलिपी लाईसेन्स वितरण गरिएको कार्यालयले दिएको तथ्यांकमा छ ।

यातायात ब्यवस्था विभागले पछिल्लो समयमा सवारी चालक अनुमतिपत्रलाई डिजिटल प्रविधिका आधारमा वितरण थालेपछि डिजिटल लाईसेन्सका लागि आवेदन दिनेको ओहिरो पनि बाक्लिएको छ ।

यो अवधिमा २४ हजार दुई सय ६१ जनाले नया लाईसेन्सका लागि र २ हजार ६ सय २१ ले वर्ग थपका लागि कार्यालयमा आवेदन समेत भरेका छन् । आवेदन दिने र लाईसेन्स निकाल्नेमा सबैभन्दाबढी वर्ग ‘के’ स्कुटर र त्यसपछि वर्ग ‘ए’ मोटरसाईकका चालक देखिएका छन् ।

त्यसैगरी नविकरणबाट सबैभन्दाबढी राजश्व असुलि भएको छ । नौ महिनाको अवधिमा नविकरणबाट मात्र ६ करोड २० लाख ८२ हजार ५ सय, नयाँ लाईसेन्सबाट १ करोड ६१ लाख ५ हजार ५ सय, नयाँ आवेदनबाट १ करोड २१ लाख ३० हजार ५ सय, प्रतिलिपीबाट ४९ लाख ७४ हजार ५ सय, डिजिटल थप आवेदनबाट १३ लाख १० हजार ५ सय र वर्ग थपबाट ५ लाख ३९ हजार राजश्व कार्यालयले उठाउन सफल भएको हो ।

कार्यालयले राजश्व संकलनमा वृद्धि गर्दै आएतापनि सेवाग्राहीले भने सधै सास्ती खेप्दै आएको पुरानै रोग हो । कार्यालयमा दरवन्दी अनुसारको कर्मचारी नहुँदा र प्रयाप्त जनशक्ति नहुँदा सेवाग्राहीले समस्या झेल्नु परेको दोहो¥याउदै अर्यालले भने – “ कर्मचारी कम भएतापनि हामीले सकेको र भ्याएको काम गरेका छौं, सकेसम्म कार्यालयमा आउने सेवाग्राहीको कार्य सम्पादनमा हामी कहिल्यै चुकेका छैनौ, लागि नै परि रहेका छौं ।”

त्यसोत कार्यालयले अहिले आईतबारदेखि बुधबारसम्म मोटरसाईकल र स्कुटरको तथा बिहीबार र शुक्रबार कार तथा जिपको ट्रायल लिँदै आएको छ ।

अहिले पालोमा दैनिक ३ देखि ४ सय कार जिपको र ४ देखि ५ सय मोटरसाईकलको ट्रायल लिँदैै आएको छ भने लिखित परीक्षा पनि नियमित जस्दै हुँदै आएको छ ।

कार्यालयले लिखित परिक्षाका लागि स्थानिय विद्यालयलाई गुहार्नु पर्ने, ट्रायलका लागि आफ्नै मैदानको अभाव हुनु, भौतिक पुर्वाधारको समस्या, सर्भरमा देखिने समस्याले सेवाग्राहीलाई अफ्ट्यारो पर्ने गरेको कार्यालयको तर्क छ ।

गएको माघ महिनादेखि अनलाईनबाट आवेदन खुल्ला गरेको अञ्चल कार्यालयले दैनिक रुपमा मोटरसाईकलको ३ सय, स्कुटरको २ सय र कारको १ सय गरि ५ सय आवेदन दर्ता हुने गरेको जनाएको छ ।

रिक्त रहेको कर्मचारीको पदपुर्ति नभएमा स्कुटरको रि–ट्रायल समेत प्रभावित हुने कार्यालयका अन्य कर्मचारीहरुले समेत संकेत देखाएका छन् ।