प्रदेश ७ को बजेट प्रस्तुत - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

प्रदेश ७ को बजेट प्रस्तुत



धनगढी, कैलाली ।
प्रदेश नं ७ को सरकारले चालु आर्थिक बर्षको ३ महिनाका लागि पहिलोपटक आइतबार अल्पकालिक बजेट प्रस्तुत गरेको छ । प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादूर बोहराले १ अर्ब २ करोडको अल्पकालीन बजेट प्रदेश सभा बैठकमा  प्रस्तुत गर्नु भएको हो ।

सबै क्षेत्रको समानुपातिक विकास गरी समष्टिगत आर्थिक स्थायित्व कायम गर्ने , विकास प्रक्रियामा अपनत्वबोध गराउन जनसहभागिता सुनिश्चित गराउने , संघीयता कार्यान्वयनका लागि कानूनी तथा संस्थागत संरचना निर्माण, अल्पकालीन, मध्यमकालीन तथा दीर्घकालिन आवधिक योजना निर्माण गर्ने बजेटको प्राथमिकताको विषय भएको मन्त्री बोहराले बताउनु भयो ।

कृषिमा आत्मनिर्भरता, शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाई, विकासका पूर्वाधारहरुको प्रारुप तय गर्ने, जल, जंगल, जमिन, जडिबुटी, उद्योग र पर्यटनको वैज्ञानिक विकास गर्ने ,गरिबी न्यूनीकरण गर्न लक्षित कार्यक्रम गर्ने , आर्थिक असमानता हटाई समावेशी विकास गर्ने र प्रचुर सम्भावना भएका क्षेत्र पहिचान गर्ने पनि चालु बजेटको प्राथमिकताको क्षेत्र भएको मन्त्री बोहराले उल्लेख गर्नु भयो ।

‘परिवर्तित कृषि प्रणाली, मौसम सुहाउँदो खेती, माटो सुहाउँदो उत्पादन, उत्पादन अनुसारको बजार’ भन्ने मूल नाराका सहित ‘मुख्यमन्त्री कृषि कार्यक्रम’ सञ्चालन गरिने मन्त्री बोहराले बताउनु भयो  । मन्त्री  बोहराले ९ वटै जिल्लामा शित भण्डार स्थापना गर्ने र कृषि कार्यको लागि चालु आवमा ५० लाख बिनियोजन गरेको बताउनु भयो  ।

पाँच वर्षभित्र प्रदेशलाई पूर्ण साक्षर प्रदेश बनाइने, ‘फोहरमुक्त स्वच्छता, प्रदेश नं. ७ को प्रतिवद्धता’ कार्यक्रम सञ्चालन गरिने बोहराले बताउनु भयो । संसद बैठकपछि बजेटवारे आयोजित पत्रकार सम्मेलनमा मन्त्री बोहराले बिनियोजित बजेट प्रदेशको ऐतिहासिक, विकासको जग र जनमुखी भएको दावी गर्नुभयो । सानो आकारको बजेट भएपनि प्रदेशका बासिन्दाहरुले तत्काल अनुभुती गर्ने योजानाहरु रहेको मन्त्री बोहराले बताउनु भयो ।