महागुटको झालमा झुन्डिएको काँग्रेस - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

महागुटको झालमा झुन्डिएको काँग्रेस



हिमालपोष्ट/काठमाडौँ –

मुलुकको सबैभन्दा पुरानो तर हजारौँ हण्डर पश्चात् पनि होस् नखुल्ने पार्टी नेपाली काँग्रेस नै हो । तलदेखि माथिसम्म ऐजेरु झारले रुखलाई जेलेजस्तै यति बेला गुट र उपगुटको लहरामा जेलिएको पार्टी पनि नेपाली काँग्रेस नै हो । आफ्नो नेतृत्वको खुलेर आलोचना गर्न सक्ने तर हस्तक्षेप गर्न कहिल्यै नसक्ने नेताहरू भएको पार्टी पनि नेपाली काँग्रेस नै हो ।

पार्टीका एउटा कुशल नेतृत्व र पुनर्जीवन दिन सक्ने आशा गरिएका युवा नेता विश्वप्रकाश शर्मालाई पार्टी र सङ्गठनलाई बदल्ने उद्घोष गरेको केही समयमा गुुट–उपगुटको जालोभित्र फ़साईएको केही काँग्रेस निकट नेताहरू नै बताउँछन् ।

पार्टी भित्र आफ्नो उपस्थिति र हैसियत देखाउन नेतृत्वबिच हानथाप चलेको छ । नेतृत्वको यही गुटबन्दी र संस्थागत निर्णयको अभावले काँग्रेस प्रतिनिधिसभा र प्रदेश सभाको प्रत्यक्षतर्फको निर्वाचनमा तेस्रो स्थानमा धकेलिएको काँग्रेसका शुभचिन्तकहरूले बताएका छन् ।

थकित अनुहार र पराजित मानसिकतामा पुग्दा समेत नेतृत्वपंक्तीको अझै होस चेत खुलेको छैन र काँग्रेस सुध्रिने अवस्था अझै देखिएको छैन । पार्टी हितको नारा भाषणमा मात्र सीमित बन्न पुगेकाले गुट उपगुटको जरा स्थानीय तहसम्म फैलिएको छ । नेताहरू आगामी १४ औँ महाधिवेशनलाई लक्षित गरी गुट उपगुटको डम्फु बजाउन व्यस्त रहेपछि निष्ठावान कार्यकर्ताहरू निराश बन्न थालेको काँग्रेसका केही इमान्दार कार्यकर्ताहरूले बताउने गरेका छन् ।

अहिले काँग्रेसभित्र देखिने गरी सभापति शेरबहादुर देउवा गुट र वरिष्ठ नेता रामचन्द्र पौडेल गुट सतहमा आएपनि भित्रभित्रै अन्य उपगुटहरु पनि सञ्चालन भई रहेको छ ।

काँग्रेसको १३ औँ महाधिवेशनमा तेस्रो धारका रूपमा उदाएका कृष्ण प्रसाद सिटौला बाहेक शशांक कोइराला गुट, खुमबहादुर खड्का गुट, कुलबहादुर गुरुङ्ग(केवी) र विजय गच्छदार गुट सञ्चालनमा रहेको जानकारी प्राप्त भएको छ । सभापति देउवा गुट भित्रै विमलेन्द्र निधिको पनि छुट्टै गुट चलिरहेको छ ।

काँग्रेसको नीति, सिद्धान्त र नेतृत्वलाई बदल्ने तथा काँग्रेस सच्चिने उद्घोष केही आशालाग्दा युवानेताहरुले धुजा धुजा भएको काँग्रेसलाई कसरी अगाडि बढाउन सक्लान् या चिप्ला कुरा र मिठा आश्वासनमा मात्र सीमित रहलान् हेर्न भने बाँकी छ ।

जनताले एक चराणमा युवानेता गगन थापा र चन्द्र भण्डारीलाई भने परीक्षण गरी सकेका छन्, जसरी जनसरोकारको विषयमा उनीहरूले खरो उत्रेर काम गरे त्यसरीनै पार्टीभित्र नयाँ नयाँ अभियान थाले भने निश्चय नेपाली काँग्रेस तङ्ग्रिन सक्छ भन्ने आशा अझै बाँकी छ । यसबिचमा देखिएका काँग्रेस भित्रका कैयौँ घटना भने काँग्रेसलाई अझै दुर्घटनामा पुर्‍याउन उद्दत छन् । जस्तै कोइराला परिवारमा पार्टीको नेतृत्वदेखि हिन्दु राष्ट्रको वकालत सम्मका घटना सुनियोजित रूपमा काँग्रेस सिध्याउने खेलिएका चक्र हुन् भन्ने बुझ्न जरुरी छ ।

काँग्रेस भित्र गगन थापा, विश्वप्रकाश शर्मा, चन्द्र भण्डारी, धनराज गुरुङ्ग प्रदीप पौडेल, गुरु घिमिरे र उमेशजङ्ग रायमाझि लगायतका युवा नेताहरू नेतृत्व परिवर्तन गर्न तम्सीए पनि उनीहरूलाई समेत नेतृत्वले ठेगान लगाउने र मोहमा फसाउने आशङ्का गरिएको छ । यधपी ब्यक्तिबाद र पुरानो कांग्रेसबादमा फसेनन् भने उनीहरूले अवश्य काँग्रेसलाई अघि बढाउन सक्छन्, पुनर्जीवन दिन सक्छन् ।