बुटवलको सस्तो मेलाको तयारी पूरा - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

बुटवलको सस्तो मेलाको तयारी पूरा



आचार्य प्रदीप
बुटवल, ३ असोज । बुटवल उद्योग बाणिज्य संघले बार्षिक रुपमा सञ्चालन गर्दै आएको सस्तो बजारको तयारी पुरा भएको बुटवल उद्योग बाणिज्य संघले जनाएको छ ।
१७ औँ पटक सञ्चालन हुँदै गरेको यो मेला घटस्थापनाको दिनदेखि संघको सभाहलमा सञ्चालन हुने दशैं सस्तो बजारमा उपभोक्तालाई ५ देखि ४० प्रतिशतसम्म छुटमा दैनिक उपभोग्य सामान उपलब्ध गराईने दशैं सस्तो बजारका संयोजक तथा बुटवल उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य विमलराज भट्टराईले जानकारी दिए ।
सस्तो बजारमा साल्ट ट्रेन्डीङ्गको चिनी र नुन, मत्य बिकास केन्द्र तथा छपियाको माछा, नयाँ नोट सटहीको समेत व्यबस्था मिलाईएको भट्टराईले जानकारी दिए ।
बाहिर बजारमा सरदर ९० रुपैंयामा कारोवार भईरहेको चिनी उक्त दशैं सस्तो बजारमा साल्ट ट्रेन्डीङ्गकै मूल्य ७८ रुपैंयामा उपभोक्तालाई उपलब्ध गराईने संघका महासचिव हरिप्रसाद अर्यालले जानकारी दिए ।
दशैं सस्तो बजारमा ५० लाख रुपैंया नयाँ नोट सटही हुने उनले बताए । सस्तो बजारमा दैनिक उपभोग्य बस्तुहरु, चिनी, नुन, तेल, चामल, घ्यू, चिया, मसला सहित, अन्य नयाँ उद्योगका उत्पादन समेत गरी फरक फरक ४० स्टल राखिने छ ।
बुटवल उद्योग बाणिज्य संघले दशैंको समयमा सञ्चालन गर्न लागेको सस्तो दशैं बजारको यो १७ औं संस्करण हो ।
१७ औं संस्करणमा सेलरोटी र फिनी रोटी समेत बिक्रि वितरण गर्न लागिएको छ । त्यस्तै बुटवलका नयाँ उद्योगबाट उत्पादित चिया, बिस्कुट, चाउचाउ, मसला, जुत्ता–चप्पललगायतका घरायसी प्रयोगका सामानहरु राखिने छ ।यहि असोजको १० गतेसम्म सञ्चालन गरिने उक्त दशैं सस्तो बजारमा एक करोड ५० लाखको कारोवार हुने र १८ हजार उपभोक्ता आउने अपेक्षा गरिएको छ ।
चाड पर्वको समयमा एउटै छनामुनीबाट गुणस्तरीय सामान सर्वसुलभ मुल्यमा बिक्रि वितरण गर्न लागिएको संघका महासचिव अर्यालले बताए ।