रुपन्देहीमा अझै ४२ प्रतिशत बजेट खर्च हुन बाँकी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

रुपन्देहीमा अझै ४२ प्रतिशत बजेट खर्च हुन बाँकी



भैरहवा ।  रुपन्देहीमा चालू आर्थिक वर्षको १० महिनामा कुल बजेटको ५८ प्रतिशत रकम मात्र खर्च भएको देखिएको छ। विकास–निर्माणका आयोजनामा अबको डेढ महिनामा ४२ प्रतिशत रकम सक्नुपर्नेछ।

जिल्लामा यस आर्थिक वर्षका लागि चालू र पुँजीगततर्फ गरी १८ अर्ब ७७ करोड ९ लाख २ हजार एक सय २६ रुपैयाँ विनियोजन भएको थियो। जसमा चालु र पुँजीगततर्फको खर्च गरी जेठ महिनाको १३ गतेसम्म १४ अर्ब ५४ करोड ३७ लाख २८ हजार ८ सय ७५ रुपैयाँ निकासा भएको कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) रुपन्देहीका कोष नियन्त्रक खिमप्रसाद अर्यालले जानकारी दिए।

जिल्लामा पुँजीगत अर्थात् विकास निर्माणका लागि ६ अर्ब ९ करोड ५ लाख ८१ हजार ८ सय ३५ रुपैयाँ बजेट छुट्याइए पनि जेठ १३ गतेसम्म ३ अर्ब ५३ करोड ६३ लाख ८३ हजार एक सय १३ रुपैयाँ निकासा भएको कोष नियन्त्रक अर्यालले बताए। उनका अनुसार, आगामी डेढ महिनामा साढे २ अर्बभन्दा बढी रकम खर्च गर्नुपर्ने देखिएको छ। आर्थिक वर्षको साढे एक महिना मात्र बाँकी रहँदा  रुपन्देहीका विभिन्न कार्यालय र आयोजनाका लागि प्राप्त बजेट खर्च हुन नसकेको देखिएको छ।

आर्थिक वर्ष सकिन लाग्दा समेत पुँजीगततर्फको ४२ प्रतिशत बजेट सदुपयोग हुन नसक्नुले विकास-निर्माणको काम प्रभावित भएको सिद्धार्थ उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष अरुण गोयनका बताउँछन्। उनले कमिसनको लोभका कारण वर्षायाममा बढी काम हुनेगरेको र वर्षाद्‌मा गरिएको कामको कुनै गुणस्तर पनि नहुने बताए।

‘जिल्लामा विकास–निर्माणका लागि आएको बजेट अनुसार समयमै काम गर्न र गराउन सम्बन्धित निकायको ध्यान जान जरुरी छ’, उनले भने।

आर्थिक वर्षको अन्तिम महिनामा हतारमा काम गरेर अधिकांश कार्यालय र आयोजनाहरुले केही रकम खर्च गरे पनि करोडौं रुपैयाँ फ्रिज हुने देखिन्छ। तर, कामहरु भइरहेको र रकम मात्र निकासा नभएकाले पुँजीगततर्फको बजेट बढी खर्च नभएको देखिएको कोष नियन्त्रक अर्याल बताउँछन्।

कोलेनिका रुपन्देहीबाट प्राप्त तथ्यांकमा सडक डिभिजन, भैरहवा भन्सार कार्यालय, किसानको लागि उन्नत बिउबिजन कार्यक्रम कार्यान्वयन, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, भैरहवा-लुम्बिनी-तौलिहवा सडक योजना, शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय, बुटवल सभाहल तथा प्रदर्शनी केन्द्र निर्माण कार्यान्वयन इकाई, पश्चिमाञ्चल सिँचाइ विकास डिभिजन नम्बर ६ लगायतले ठूलो बजेट खर्च गर्न नसकेको देखिएको छ।

चालू आर्थिक वर्षका लागि शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयले पाएको १ अर्ब ७५ करोड ९२ लाखमध्ये १ अर्ब ८ करोड रुपैयाँ मात्र रकम निकासा भएको कोलेनिका रुपन्देहीले जनाएको छ। यस कार्यालयले आगामी असार महिनासम्म करिब ६७ करोड रुपैयाँ खर्च गर्नुपर्ने देखिएको छ। त्यस्तै, डिभिजन सडक कार्यालयले पाएको १ अर्ब ३४ करोड ८५ लाख बजेटमध्ये जेठ १३ गतेसम्म ९१ करोड २८ लाख रुपैयाँ मात्र खर्च गरेको छ। उसले अबको डेढ महिनामा ४३ करोड ५६ लाख रुपैयाँ खर्च गर्नुपर्नेछ।

लुम्बिनी परिक्रमा बर्दघाट पालडाँडा त्रिवेणी सडक आयोजनाले पाएको ३५ करोड ३९ लाख बजेट पाएकोमा जेठ १३ गतेसम्म २ करोड २७ लाख रुपैयाँ मात्र खर्च गरेको छ। यस्तै, रुपन्देहीको बुटवलमा सभाहल तथा प्रदर्शनी केन्द्रको निकै आवश्यक रहेको भन्दै निर्माणको दबावसहित आएको बजेट समेत फ्रिज हुने अवस्थामा पुगेको छ। सभाहल निर्माणका लागि विनियोजन भएको २२ करोड बजेटमध्ये हालसम्म २ करोड ९२ लाख ६४ हजार रुपैयाँ मात्र खर्च भएको छ।

यस्तै, बजेट भए पनि खर्च गर्न नसकेको अर्को आयोजना हो, भैरहवा लुम्बिनी तौलिहवा सडक आयोजना। यो आयोजनाको लागि १७ करोड ३९ लाख ३१ हजार बजेट विनियोजन भए पनि जेठ १३ गतेसम्म आयोजनाले २ करोड ९० लाख ६३ हजार रुपैयाँ मात्र खर्च गरेको कोष तथा लेखा नियन्त्रक कार्यालयबाट प्राप्त तथ्यांकमा देखिएको छ। आयोजनाले डेढ महिनाभित्र करिब १५ करोड रुपैयाँ खर्च गर्नुपर्ने देखिन्छ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले पनि चालू आर्थिक वर्षको हालसम्म काम गर्न नसकेको पाइएको छ। यस कार्यालयले पाएको २२ करोड २० लाख ५८ हजार बजेटमध्ये जेठ १३ गतेसम्म ९ करोड १३ लाख ६२ हजार रुपैयाँ मात्र निकासा भएको कोलेनिका रुपन्देहीले जनाएको छ।

किसानको लागि उन्नत बिउबिजन कार्यक्रम आयोजनाले पनि काम गर्न नसकेको देखिएको छ। यो आयोजनाका लागि ११ करोड ९३ लाख ७५ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा अहिलेसम्म २ करोड ७६ लाख २० हजार रुपैयाँ मात्र खर्च गरेको छ।

त्यस्तै, आगामी असार मसान्त अर्थात् डेढ महिनाभित्र वर्षायाममा पश्चिमाञ्चल सिँचाइ विकास डिभिजन नम्बर ६ कार्यालयले ९ करोड ३० लाख, भैरहवा भन्सार कार्यालयले ८ करोड ३ लाख, जिल्ला समन्वय समितिको कार्यालयले ५ करोड ५ लाख, भूमिगत जल सिँचाइ विकास डिभिजन कार्यालयले ४ करोड ८३ लाख खर्च गर्नुपर्ने कोलेनिकाको तथ्यांकमा देखिएको छ।

कोष नियन्त्रक अर्यालले भने विगतका वर्षहरुको तुलनामा यस वर्षको खर्च सन्तोषजनक रहेको बताए। उनले राष्ट्रिय गौरवको आयोजनाहरुमा काम भए पनि बजेट अभावका कारण रकम निकासा हुन नसकेको बताए।

नेपाललाईभकाे लागि दिपक घिमिरेले तयार पारेकाे समाग्री