उपाध्यायको राजिनामा सोमबार स्वीकृत हुने , टिकटका लागि दौडधुपमा - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

उपाध्यायको राजिनामा सोमबार स्वीकृत हुने , टिकटका लागि दौडधुपमा



हिमाल पोस्ट /कात्तिक ५ 

भारतका लागि नेपालका राजदूतबाट राजीनामा दिएका दीपकुमार उपाध्याय नयाँ दिल्लीस्थित नेपाली दूतावास र भारतीय विदेश मन्त्रालयबाट औपचारिकरुपमा विदा भएर स्वदेश फर्किएका छन्। राजनीतिमा फर्किन भन्दै राजदूत पदबाट राजीनामा दिएका उपाध्याय शुक्रबार नेपाल फर्किएका हुन्।

दिल्लीस्थित नेपाली दूतावास स्रोतका अनुसार उपाध्यायले कार्यावाहक राजदूतको जिम्मेवारी दूतावासका उपप्रमुख भरत रेग्मीलाई सुम्पिएर स्वदेश फर्किएका छन्। केही समयअघि पुनः राजनीतिमा फर्किने भन्दै उपाध्यायले पदबाट राजीनामा दिएर तत्कालीन उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई राजीनामाको पत्र बुझाएका थिए।

त्यसबारे परराष्ट्रमन्त्रीले मन्त्रिपरिषदको बैठकमा प्रस्ताव लगेका छैनन्। एमालेसँग गठबन्धन गरेर प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा नेकपा माओवादी केन्द्र चुनावी अभियानमा होमिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीका सबै मन्त्रीलाई विनाविभागीय बनाएका थिए। महरा विनाविभागीय भएपछि परराष्ट्र मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री देउवा आफैले सम्हालेका छन्।

राजदूत पदबाट राजीनामा दिएका दीपकुमार उपाध्याय कपिलवस्तुबाट प्रतिनिधि सभा निर्वाचन लड्ने तयारीका साथ स्वदेश फर्किएकाले सम्भवतः सोमबार बस्ने मन्त्रिपरिषद बैठकले उनको राजीनामा स्वीकृत गर्ने छ। स्रोतका अनुसार प्रधानमन्त्री देउवाले राजदूत उपाध्यायको राजीनामाको प्रस्ताव आफै क्याविनेट लैजाने छन्।

राजदूत उपाध्यायले राजनीतिमा फर्किने योजना अनुसार कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफलपछि राजीनामा दिएका हुन्। उपाध्यायले कपिलबस्तु क्षेत्र नम्बर १ वा २ मध्ये एउटा क्षेत्रबाट प्रतिनिधि सभा निर्वाचन लड्ने तयारी गरेका छन्।

उपाध्यायले आफू राजनीतिमा फर्किनकै लागि राजदूतबाट राजीनामा दिएको बताए। उपाध्याक्षले  भने, ‘म राजनीतिक पृष्ठभूमिकै मान्छे हो। लामो समय राजनीतिमै जीवन खर्चेको छु। त्यसैले अब कांग्रेसकै राजनीतिमा फर्किन राजदूत पदबाट राजीनामा दिएर नेपाल आएको छु।’कपिलवस्तु १ वा २ मध्ये जुन क्षेत्रमा टिकट दिएपनि निर्वाचन लड्ने उपाध्यायले बताए। ‘जिल्लाबाट धेरै दबाब आएकाले राजनीतिमै फर्किन लागेको हुँ,’ उनले भने।

उपाध्याय कांग्रेस केन्द्रीय सदस्यबाट राजीनामा दिँदै भारतका लागि नेपाली राजदूत नियुक्त भएर नयाँ दिल्ली गएका थिए। उपाध्यायलाई कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला नेतृत्वको सरकारले भारतका लागि नेपाली राजदूतमा नियुक्त गरेको थियो। तर, एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले राजदूत उपाध्यायलाई राजदूतबाट फिर्ता बोलाएको थियो।

ओली नेतृत्वको सरकारले उपाध्यायलाई फिर्ता बोलाएपनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले पुनः उपाध्यायलाई नै भारतका लागि नेपाली राजदूतमा नियुक्त गरेको थियो।

२०७० सालको संविधान सभा निर्वाचनमा उपाध्याक्ष कपिलवस्तुु–१ बाट पराजित भएका थिए। राजदूत छँदै आफूलाई प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस नगर्न क्षेत्रीय र जिल्ला समितिलाई उपाध्यायले आग्रह गरेकाले उनको सिफारिस केन्द्रमा आएको छैन।

कांग्रेस जिल्ला समितिले प्रतिनिधि सभाका लागि कपिलवस्तु क्षेत्र नम्बर १ बाट अतरकमल मुसलमान र राजेश आचार्यको नाम सिफारिस गरेको छ। कपिलवस्तु क्षेत्र नम्बर २ बाट जिल्ला सभापति सुरेन्द्र आचार्यको नाम सिफारिस भएको छ भने क्षेत्र नम्बर ३ बाट संघीय समाजवादी फोरम छाडेर कांग्रेसमै फर्किएका अभिशेषप्रताप साहको नाम सिफारिस भएको छ।

तर, कांग्रेस संसदीय बोर्डले उपाध्यायलाई प्रतिनिधि सभाका लागि कपिलवस्तु १ बाट उम्मेदवार बनाउने तयारी गरेको छ। उपाध्यायले टिकटका लागि नेपाल फर्किए लगत्तै दौडधूप पनि सुरु गरेका छन्। नेपाली खबरबाट