स्वर्गद्वारीमा डेढ महिनामा ५० हजार पर्यटक - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

स्वर्गद्वारीमा डेढ महिनामा ५० हजार पर्यटक



प्रज्ज्वल पहाडी
प्युठान  । पवित्र धार्मिक तथा पर्यटकीय तीर्थस्थल स्वर्गद्वारी दर्शनका लागि पछिल्लो पटक आगमन वृद्धि भएको छ । पछिल्लो पौषदेखि माघ पन्ध्र सम्म मात्रै ५० हजार पर्यटक तथा धार्मिक तीर्थयात्रीहरूले स्वर्गद्वारी दर्शन तथा अवलोकन गरेका छन् ।

मकर संक्रान्तिले यस पटक पर्यटक तथा तीर्थयात्रीको संख्यामा उल्लेख्य वृद्धि आएको स्वर्गद्वारी आश्रमले जनाएको छ । “मकर संक्रान्तिमा आउने पर्यटक तथा तीर्थालुमा वर्षेनि वृद्धि हँुदै आएको छ” आश्रमका व्यवस्थापक वासुदेव भट्टराईले भने, “पछिल्लो समय भारतीय तीर्थयात्रीको भिड हुने गर्छ ।” ५० हजार पर्यटक तथा तीर्थालुमध्ये मकर संक्रान्तिलाई केन्द्रित गरेर आउने पर्यटक तथा तीर्थालुको संख्या २० हजार बढी छ ।

जसमध्ये भारतीय तीर्थालु उल्लेख्य वढी छन् । मकर संक्रान्तिमा नियमित पूजाआजा भन्दा वेग्लै मेला नलागे पनि पछिल्लो पटक भारतीय पर्यटक तथा तीर्थालुहरू यस समयमा बढी आउने गरेको व्यवस्थापक भट्टराईले जानकारी दिए ।

आश्रमका अनुसार बुद्धजयन्ती, श्रावण र पौष महिनामा भारतीय तीर्थालुहरू तीर्थयात्राका लागि बढी आउने गर्छन् । आन्तरिक पर्यटक भने बाह्रै महिना नियमित आउने भट्टराईले बताए । तीर्थालुहरू बढेसंगै आश्रमको आम्दानीमा समेत वृद्धि भएको आश्रमले जनाएको छ ।

पौष महिनादेखि माघ १५ गतेसम्म मात्रै ७९ लाख भेटी संकलन भएको व्यवस्थापक भट्टराईले जानकारी दिए । “गत आर्थिक वर्षभरिमा कुल १ करोड ७० लाख भेटी संकलन भएको थियो” उनले भने, “अहिलेको दरले हेर्दा भेटि संकलनमा पनि वृद्धि हुने अनुमान छ ।” वार्षिक ५ लाख पर्यटक तथा तीर्थालुहरू आश्रमको दर्शनका लागि आउने अनुमान भए पनि ढाईदेखि तीन लाखसम्म पर्यटक भित्रने गरेको तथ्यांक छ । बैशाखे पूर्णिमा(वुद्धजयन्ती), महाप्रभुको जन्मदिन श्रावण शुल्क एकादशी, कार्तिक शुल्क औंशी र महाप्रभुको देवहशान भएको माघ शुल्क चौथीका दिन विशेष पूजाआजासंगै मेला लाग्ने गर्दछ । यसबेला पनि पर्यटक तथा तीर्थालुको घुँइचो हुन्छ ।

पाँच नम्बर प्रदेशको प्रमुख पर्यटकीय तीर्थस्थल अन्तरगत स्वर्गद्वारी पर्ने गर्छ । आश्रममा दैनिक विशेष पूजाआजा संचालन हुने गर्छ । स्वर्गद्वारीमा दर्शन गरे मनोकाक्षा पूरा हुने जनविश्वाससंगै विभिन्न वातावरणीय सुन्दरताका कारण पनि पर्यटकहरूको लहर लाग्ने गर्छ । वि.सं. १९१६ साल श्रावण शुल्क एकादशीमा वृहस्पतीवार अनुराधा नक्षत्रमा श्री १०८ महाप्रभुको रोल्पाको रुम्टीमा जन्म भएको र पछि उनी प्यूठानको स्वर्गद्वारीमा आएर तपस्या गरी स्वर्गद्वारीमा पूजाआजा संचालनमा ल्याएको किम्वदन्ती छ । आश्रममा १ सय १७ वर्षदेखि महाप्रभुले सुरु गरेको अखण्ड दीप बलिरहेको छ ।