माओवादी नेता पौडेलमाथि सुन तस्करीको मुद्दा - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

माओवादी नेता पौडेलमाथि सुन तस्करीको मुद्दा



काठमाडौं-

प्रहरीले सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलमाथि सुन तस्करी मुद्दा चलाएको छ। २२ किलो सुन तस्करीको अभियोगमा प्रहरीले पौडेलसहित ११ जनाविरुद्ध मुद्दा दायर गरेको हो। पौडेल फरार छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ परेका सात र फरार चारलाई प्रतिवादी बनाई मुद्दा चलाएको थियो। पक्राउ परेकामध्ये एकजना पुर्पक्षका लागि जेल चलान भएका छन् भने ६ जना धरौटीमा छुटेका छन्। यो खबर नवराज मैनालीले आजको नयाँ पत्रिकामा लेखेका छन्।

तस्करीमा संलग्न मुख्य नाइके चारैजना फरार छन्। सुनको लगानीकर्ता भोटेकोसी गाउँपालिकाका अध्यक्ष पौडेल भएको प्रहरी निष्कर्ष छ। त्यस्तै, न्युरोड क्षेत्रमा बसेर सुन र हुन्डीको कारोबार गर्ने रमेश खड्का, सुन्दर खड्का र कृष्ण खड्काविरुद्ध समेत प्रहरीले मुद्दा दायर गरेको छ। १४ किलो सुन शेर्पाको टोखास्थित डेराबाट तथा एक किलो धनुषाबाट बरामद भएको थियो। उनीहरूबाट भक्सवागन कार, ६ सय अमेरिकी डलर पनि बरामद गरेको थियो।

पक्राउ परेका पेम्बा दोर्जे तस्करीका मुख्य सहयोगी हुन्। सो सुन एक चिनियाँको भएको र आफूले केही पैसा लिएर ओसारपसार एवं बिक्री मात्र गर्दै आएको बताएका छन्। पक्राउ परेका अन्य चारजना नेपालका विभिन्न सुन पसलदेखि भारतसम्म पुर्‍याएर तस्करीको सुन बिक्री गर्ने व्यक्तिहरू भएको प्रहरीले जनाएको छ। पेम्बा दोर्जेले आफ्नै कन्टेनरमा राखेर सो सुन रसुवा हुँदै काठमाडौं ल्याएका थिए। आफूले दुईपटक चीनबाट सुन ल्याएको उनले बताएका छन्।

सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

तस्करीमा संलग्न सबैमाथि सिआइबीले सम्पत्ति शुद्धीकरणमा मुद्दामा अनुसन्धान अघि बढाएको छ। सुन तस्करीबाट अकुत पैसा कमाएको आशंकामा छानबिन सुरु गरिएको सिआइबीका निर्देशक डिआइजी पुष्कर कार्कीले बताए। धरौटीमा छुटेकालाई हिरासतमै राखेर प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान मुद्दामा अनुसन्धान अघि बढाएको हो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसँग मिलेर सिआइबीले अनुसन्धान अघि बढाएको हो।

बरामद सुन १५ केजी, बिगोदाबी २२ केजीको

प्रहरीले १४ भदौमा रसुवाको केरुङ नाकाबाट भित्रिएको १५ किलो सुनसहित सातजनालाई पक्राउ गरेको थियो। पक्राउ परेकामध्ये सिन्धुपाल्चोक भोटेकोसी घर भई टोखा बस्ने पेम्बा दोर्जे शेर्पा जेल चलान भएका छन्। प्रहरीले उनलाई पाँच वर्ष कैद र १० करोड ४६ लाख रुपैयाँ जरिवाना दाबी गरी मुद्दा दायर गरेको थियो।

पक्राउ परेका भक्तपुरका दीपेन्द्र थापा, बानेश्वरका सरोज थापा, काभ्रेका विष्णु गौतम, भक्तपुरका राजेन्द्र खत्री, रविन खत्री र धनुषाका दीपककुमार साहलाई धरौटीमा छाड्ने आदेश दिएको हो। अनुसन्धानका क्रममा उनीहरूले २२ किलो सुन तस्करी गरेको खुलेको थियो। त्यसकारण प्रहरीले १५ किलो बरामद भए पनि २२ किलो सुन बराबरकै बिगो दाबी गरेको छ।