सासु–बुहारी ! - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

सासु–बुहारी !



-दीपक घिमिरे

म अलि ठूलो भएपछी आमाले घर आउने पाहुनालाई भन्नुहुन्थ्यो “ यस्ले बिहे गर्ला अनि ब्वारीले पकाउली , हाम्लाई खान देलि भन्ने सपना देख्दै बस्या छु । ”

म लजाउथे , बिहे भन्ने बित्तिकै नाक बटार्दै आमालाई भन्थे “ नहुने कुरा नगर्नु , मैले बिहे गर्दैन । ”

कहिले चै सुटुक्क अर्को कोठामा पुगेर भित्तामा झुण्डिएको ऐनामा अनुहार हेर्दै सोच्थे “ खै ! जुङ्गै आको छैन , आमा चै बुहारीका सपना देख्न थाल्नु भो । ”

बुहारी भित्राउने कुरा चल्न थालेसी मैले मेरा गालामा ब्लेडले कोतर्न थालेको हु । आफुलाई जवान देखाउन नाक मुन्तिर जुङ्गाका रेखी बस्नु पर्छ भन्ने आफ्नै मान्यता थियो मेरो ।

बा’ले थोत्रो बनाएर फालेको टोपाज ब्लेडले गालाका फुस्रा भुत्ला कोतर्दा कोतर्दै नाक मुन्तिर जुङ्गाका हल्का रेखी बस्न थाले । उमेर नपुग्दै अनुहारमा ब्लेड लगाउने रहरले कहिले काहीँ गाला र ओठ काटिन्थ्यो तर काटेको दर्द भन्दा जवान हुने रहरले खुशी दिन्थ्यो अनि बाको गाली खाएरै भएनी ब्लेड लगाउन छाडिएन ।

जुङ्गामा रेखी बस्न थाले पछि मैले दस कक्षा पास गरे । स्कुलमा सबैका लभ पर्न थाले । कलेज पढने उमेर भएसी एउटी गतिली छम्मा हुनै पर्ने रहर हुन्थ्यो ।

तर कस्ले पत्याउने ? न आफैले प्रपोज गर्ने हिम्मत गरीयो , न केटीले ‘ आई लभ यु दिपक ’ भन्दै आउलान भन्ने आशा गरीयो । अरुका जोडी हेरेरै कलेज जीवन कटाईयो ।

कलेज जिबनमै कतिले घरबार जोडे , अहिले लेखाजोखा छैन । लभ चलेको हल्ला एक कान दुई कान मैदान नहुदै प्रेममा फसेका जोडी सुटुक्क भाग्थे अनि एक हप्ता पछि कलेज आउदा केटो लजालु भएको देखिन्थ्यो अनि केटी चै सिउदो भरी सिन्दुर भरेर झुल्किन्थी । हामी आधा घण्टा जिस्काउथ्यौ , अनि बिबहाको पार्टी खान क्यान्टिन सम्म पुग्थ्यौ ।

लभ चलाउन सक्ने हैसियत नभएका हामी जस्ता अभागीहरुलाई लभ परेका या बिवाह गरेकाहरुले क्यान्टिनमा लगेर छोला समोसा खुवाउथे । हामी मख्ख पर्दै एक पिलेट छोला समोसामा बिक्थ्यौ । तर कहिल्यै दुलाहा बनेर यस्तै छोला समोसाको पार्टी दिने सपना देखेनौ ।

किनकी साच्चै भन्ने हो भने हाम्रो लभै पर्थेन । राम्रा जति अरु कसैका भैसक्थे , हामि सोझा साझा छोला समोसामै चित्त बुझाउथ्यौ ।

कलेज जीवन सकियपछी घरमा सुरु भयो कचकच ।

गाउँमा बिहेका लागी तयार केटी देख्यो कि बा ले भन्नू हुन्थ्यो “ फलानाकी छोरी गजप छे , त्यसैलाई ब्वारी बनाउने सोच्या छु । के छ दिपके तेरो सोच ? ”

पधेरामा अरु कसैकी गतिली बुहारी देखेपछी आमाले घरमा आएर भन्नू हुन्थ्यो “ यस्लाई त त्यै पार्वती जस्तै ब्वारी खोज्ने हो । मेरी आंबैनी ! कति इज्जतिली हो । ”

घरमा बा आमाको सपना देख्दा मैले लभ नचलाएर बहुत ठिक गरे जस्तै लाग्थ्यो । किन भने मैले मन पराएको केटी बा आमाको नजरमा नराम्रो पर्न सक्थी ।

उहाँहरुको सपनामा बसेकी बुहारी चै पार्वती , रुबि , अम्बिका जस्ता थिए । मैले गजब मानेका केटीहरुको स्वभाव उनिहरु सँग पटक्कै मिल्थेन । भोली घरमा सासू बुहारीको कचकचमा बा र म पिल्सेर बस्नु पर्ने बाध्यता आउन सक्थ्यो । त्यसैले सोच्छु कि लभ नचलेर जीवन झन बबाल भो , झकास पनि भयो ।

लभ चलेर सुटुक्क भागेका एक दर्जन भन्दा बढी जोडी हाम्रै टोलमा छन । कोही हाम्रै गाउँ बाट उडेर पल्लो गाउँ पुगे भने कति पल्लो गाउँ बाट उडेर हाम्रो गाउँ मा आए । कति त छिमेक मै पनि सुटुक्क यता उताँ भए ।

उनिहरुको दशा देख्छु अनि सोच्छु “ माया पिरती भन्ने पनि त्यस्तै रैछ बरै ! नपाउदा सम्म जुन तारा झार्दिम्ला , पाए पछि तेरा बाउको दात झार्दिम्ला । ”

टाकुले लेखमा बसेर सँगै जिउने सँगै मर्ने सपना देखेका अन्जना र बिरेको जोडी आजभोली छुट्टिए । बिरेले लेखेको लभलेटर बोक्ने हुलाकी मै हु , अझै जिउदैछु ।

एक पटक उसले लेख्या थ्यो “ तिम्रा लागि संसारको खुशी किन्नेछु , म मर्न तयार छु तर तिम्लाई हसाउने छु अन्जु ! आई लभ यु । ”

उसले लेख्या पढेर दुई दिन सम्म हास्ने म बाहेक अरु दुई जना पनि जिउदै छन ।

यो त एउटा लाईन मात्र हो । हरेक हप्ता दुई पाना भरेर लभ लेटर लेख्थ्यो । लभलेटर पढदा लाग्थ्यो , अन्जनालाई पाएन भने बिरे रुखमा तुर्लुङ्ग झुण्डिन्छ कि त एक बोतल मेटासिट स्वाट्टै पार्छ ।

बिरे फिदा भएको देखेर अन्जना पनि प्यारमा परी । एक दिन सँगै जिउने , सँगै मर्ने कसम खादै भागे । एक बर्ष नपुग्दै उनिहरु छुट्टिने अबस्थामा पुगे ।

बिरक्त भएर चौपारीमा भेटिने बिरेले मुखभरी भएको शुद्धप्लसको झोल थुक्दै भन्छ “ बा आमाले हेरेको केटी बिहे नगरेर ठूलो भुल भो । ”

माईतीमै बसेकी अन्जना पधेरामा भेटिदा सुईए सुस्केरा हाल्दै भन्छे “ जवानीमा जुन तारा खसाल्नेको पिरतीमा फसेर यी यस्तो नर्कको जस्तो जीवन बिताउदैछु । ”

यस्ता उदाहरण त कति छन कति । यहि देख्दा लाग्छ “ पिरतीको छाता नओढेर बहुत सहि गरियो । ”

‘ प्यार किया तो डर्ना क्या ’ भन्दै डेटिङ् जाने अनि छिट्टै बरमाला पहिरिनेहरु आजभोली कुन अबस्थामा छन भन्ने कुरो टोलमा आउनुस अनि हेर्नुहोला ।

आफू सँगैका साथीभाई सबैले घरमा बुहारी ल्याईदेसी मेरा बा आमा पनि बुहारीको कुरा झिक्न थाले । उसो त मेरा जुङ्गाका रेखी नबस्दै बा आमाले बुहारीको सपना देख्न थालेका हुन । तर अब त उमेर पनी भयो भन्दै सुरु भयो बुहारी छान्ने प्रकृया ।

फलानाकी छोरी जस्ती , फलानाकी बुहारी जस्ती या फलानी जस्तै भन्दा भन्दै एउटी बुहारी बा आमाले भेटाए । बा आमाको नजरमा बत्तिस लक्षणले युक्त बुहारी । बा आमाले छोरी जस्तै बुहारी को सपना देख्नु भो , मैले चै जीवन चलाउने जिबनभरको साथीको रुपमा सपना सजाए ।

बा ले औकात अनुसार बिहे गर्दिनु भो , आमाले हैसियत अनुसार बुहारी भित्राउनु भो । मैले श्रीमती पाए । दुनियाभरका बिबाहितहरुको सुचिमा म पनि परे ।

अचम्म त के हुदो रैछ भने दुई चार दिन मात्र होईन , दुई चार महिना सम्म म बिबाहित हु भन्ने भुलिदिन्थे । बाटोमा कुनै राम्री केटी देख्दा यस्तै स्वास्नी भेटिए हुन्थ्यो भन्ने कल्पना मनमा खेल्थे अनि झट्ट सम्झिन्थे , हैट ! म त बिबाहित पो हु यार ।

घरमा नयाँ बुहारीले चुरा बजाउदै खाना बनाउन थालेसी घरको रौनकतानै फरक भयो रे । बा घरको पिढिमा बसेर हास्दै बुहारीको तारिफ गर्नुहुन्थ्यो । आमाले चै पानी पधेरो अनि मेला पातमा बुहारीको गुनगान गाउन थाल्नुभयो । म बेरोजगार थिए , दिनभरी ट्वाल्ल परेर बुढिको अनुहार हेर्थे अनि आफै खुशिले दंग पर्थे । सोच्थे ‘ लभै परेको भएनी यस्ती स्वभाव वाली बुहारी चै पाउथेन भो ! ’

बुहारीका पनि अनेक रुप हुन्छन । कोहि अलक्षिणा बुहारी हुन्थे , कोही छोरा टोकुवा बुहारी हुन्थे । कोहि सासू टोकुवा हुन्थे ।

नढाटी भन्नुपर्दा समाजमा सबैभन्दा नमिलेको जोडिनै सासू बुहारीको जोडि हो । सासुले बुहारी आएपछी छोरा टाढियो भन्ने सोच्छन अनि बुहारी चै यो सासू कहिले मर्ली अनि घरमा राज चल्छ भनेर सोच्छन रे । दुई लामा कपाल भएका जात कहिले मिल्दैनन रे । हुन सक्छ । मैले मिलेको पनि देख्या छैन ।

तर भाग्यमानी म ! मेरा घरमा त्यस्तो भएन । छोरीको कमि महसुस हुन नदिन बुहारीले आफ्नो भुमिका निभाई , बुहारीको मायालाई छोरीको माया सरह ग्रहण गर्दै आमाछोरीको नाता कायम राख्न आमाले ठूलो भुमिका खेल्नु भयो ।

घर परिवारमा बुहारीको महत्व मेरी उनिले उदाहरण बनेर देखाउदै थिइन । एक दिन फ्याट्ट बैदेशिक रोजगारीको भिषा लागेर म यता आए । यता मतलब खाडी । उता भाँडभैलो मच्चिन सुरु भएछ ।

आमा र बुहारी को ग्रह दशा नमिलेपछी सुरु भयो घरमा कचकच । छोरी जस्तै प्यारी बुहारी कुरौटे र अलक्षिणा आईमाई लाग्न थाली रे । आमा जस्तै सासू चै उसलाई बोक्सीनी लाग्न थाल्नु भएछ ।

म बिचरो सात समुद्र पारीको खाडीबाट सम्झाउन सक्थे बाकी सम्झिने नसम्झिने उहाँहरुको कर्तब्य थियो ।

गाउँ समाजको लागि उदाहरण बनेको मेरो परिवारमा फाटो आउन थालेसी एक दिन बा ले फोनमा भन्नु भो “ शहर तिर डेरा गरेर राख तेरी जोईलाई । म मेरी जोई सजिलाई पाल्छु । ”

दुई स्वास्नी मान्छेको लडाईमा बा’ले मलाई दोषी देख्न थालेपछी म आफुलाई अभागी ठान्न थाले । म घरमै हुदा सम्म मिलेको परिवारमा किन दैव लाग्यो भनेर भगवान गुहार्न थाले । कहिले स्वास्नी सम्झाउथे त कहिले आमालाई फकाउथे । तर कहिले दुबैलाई मिलाउन सकेन । स्वास्नीले आमाको कुरा काटदै भन्थी “ तिम्री आमा त बौलानी जस्ती । कुरै नबुझ्ने । ”

उसको कुरा सुनेर झ्याम्म गालामा चडकन लगाउन मन लाग्थ्यो तर फोनबाट सम्झाउनुको बिकल्प हुन्थेन । म उसलाई सम्झाउथे , आमाको कुरामा मन नदुखाउन सल्लाह दिन्थे ।

आमाले पनि रिसाउदै भन्नुहुन्थ्यो “ तेरो स्वास्नी त अलक्षिना रैचे ! कि शहर तिर डेरा गरेर बसाल हैन भने हामी निस्कन्छौ । ”

अब कस्को कुरा मान्नु ? स्वास्नीलाई गाली गरेर घरमै बसालु भने बा आमा निस्केलान भन्ने डर , बा आमालाई गाली गरु भने पाप लाग्ला भन्ने डर ।

घरका कुराले आँखा रसाउछन । त्यो परिवारलाई सम्झिन्छु अनि कहिले काहीँ एक्लै रुन्छु । न स्वास्नीलाई डेरामा राख्न सक्छु । न त बा आमालाई घरबाट निस्केको देख्न सक्छु । त्यो मीठो परिवारलाई कल्पना गर्दै काममा जोतिन्छु । आमालाई सधै फकाउछु , स्वास्नीका कुरा एउटा कानले सुन्छु , अर्को कानबाट फुत्त उडाईदिन्छु ।

साच्चै यती लेख्दै गर्दा एउटा कुरा चै के सत्य रहेछ भन्ने लाग्यो भने सासू बुहारी मिल्दै मिल्दैनन । न मेरो न उसको , हामी सबैको ।