ओली र प्रचण्डले मात्रै निर्णय गरेर पार्टी चल्दैन :खनाल - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

ओली र प्रचण्डले मात्रै निर्णय गरेर पार्टी चल्दैन :खनाल



काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले पार्टीका दुई अध्यक्ष केपी ओली र प्रचण्डले मात्रै पार्टी चलाउँछु भन्नेतिर लागे भने पार्टी कमजोर हुने बताएका छन् ।

प्राइम टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै नेता खनालले ओली र प्रचण्डले मात्रै निर्णय गरेर पार्टी नचल्ने भन्दै सामुहिक छलफल र निर्णयका आधारमा पार्टी चलाउनुपर्ने बताए ।

“दुईजना नेताहरुले मात्रै हामी पार्टी चलाइहाल्छौँ भन्नुभयो भने पार्टी चल्दैन । यसरी यो पार्टी अगाडि बढ्न सक्दैन ।” खनालले भने ।

आफू पार्टीभित्र कमजोर हैसियतमा रहेको भन्ने तर्कको खनालले खण्डन गरेका छन् ।

पार्टीलाई वैचारिक, राजनीति र सैद्धान्तिक रुपले रुपान्तरण गर्न सक्नुपर्ने खनालको तर्क छ । पार्टीमा मान्छे जम्मा गरेर मात्रै पार्टी नचल्ने उनको जिकिर छ । “पार्टी एकीकरण गर्ने भनेर भएभरका मान्छे हुल्यो, तर जिम्मवारी छैन, कुनै काम पनि दिनु छैन । यस्तो तरिकाले त पार्टी गोबरको थुप्रो जस्तै हुन्छ ।” खनालले भने ।

अहिले नेकपा ठूलो पार्टी भयो भन्दैमा दम्भ र घमण्ड गर्न नहुने खनालको सुझाब छ ।

“जसजसमा दम्भ र घमण्ड बढेको छ, तिनीहरु असफल हुँदै जानेछन् । कम्युनिष्ट पार्टी कहिल्यै घमण्डी हुँदैन । तर कतिपय नेताहरु घमण्डी देखिएका छन् । तिनीहरुबाट सचेत हुनुपर्छ ।” खनालले भने ।