ओलीकै कारण भाँडियो एकता ! - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

ओलीकै कारण भाँडियो एकता !



काठमाडौं-

निर्वाचनलगत्तै पार्टी एकता गर्ने घोषणा गरेको एमाले र माओवादी केन्द्रको बीचमा अझै पद बाँडफाँडको कुरा मिल्न सकेको छैन ।

अझ पार्टी एकता प्रक्रिया अगाडि बढाउने विषयले प्रक्रियागतरूपमा अगाडि बढ्न सकेको छैन । एमालेले अबको सरकारको नेतृत्व र पार्टीको अध्यक्ष केपी शर्मा ओलीले नै गर्नुपर्ने अडान लिएको छ भने माओवादी केन्द्रले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुनुपर्ने अडान राख्दै आएको छ। मुख्य विषयमा ओली र प्रचण्डबीच अझै सहमति जुट्न सकेको छैन। निर्वाचन सम्पन्न भएपछि दुई पटक बसेको एकता संयोजक समितिको बैठकले पनि एकता प्रक्रिया अगाडि बढाउने विषयमा ठोस् सहमति गरेर अगाडि बढ्न सकेको छैन ।

जसकारण माओवादी केन्द्र र एमालेबीचको एकता धरापमा पर्ने सम्भावना पनि देखिएको छ । प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एउटा पद प्रचण्डलाई दिने पूर्वसहमतिबाट एमाले अध्यक्ष केपी ओली ‘ब्याक’ भएको माओवादी नेताहरुले आरोप लगाएपछि एकताका लागि तनाव उत्पन्न भएको हो । पार्टी र सरकारको नेतृत्व एउटै व्यक्तिमा अन्तरनिहीत हुनुपर्छ भन्ने एमाले महासचिव ईश्वर पोखरेलकै लाइनमा ओली उभिएपछि माओवादी नेता झस्किएका छन् । थाइल्याण्डबाट फर्किएपछि ओलीको बोली बिच्किएको माओवादी केन्द्रभित्र गाँइगुँइ चलन थालेको छ ।

ओली फर्किएलगत्तै भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल भ्रमणमा आउनु र  थाइल्याण्ड बसाइका क्रममा भारतीय खुपिया एजेन्सी ‘रअ’का प्रतिनिधिसँग ओलीले भेटघाट गरेको समाचारहरु बाहिरिनुले माओवादी केन्द्र थप शसंकित बनेको छ । ओली थाइल्याण्डबाट फर्किएपछि प्रचण्डसँग माघ दोस्रो साता वान टु वान वार्ता पनि गरेका थिए । लगतै ओली निबास बालकोटमा बसेको पार्टी एकता संयोजन समितिको बैठकमा दुबै नेताले आफूहरुबीच अनौपचारिक छलफल आवश्यक भएको सुनाएका थिए ।

‘केपी ओलीजीले महाधिवेशनपछि मात्रै अध्यक्ष पद हस्तान्तरण गर्छु भन्नुभयो, प्रधानमन्त्री पनि आफैं चलाउँछु भन्नुभयो’ एक माओवादी नेताले भने, ‘ओलीजीले मुलुक र पार्टीलाई एउटा दिशानिर्देश गरिसकेपछि मात्रै अध्यक्षको जिम्मेवारी हस्तान्तरण गर्ने ईच्छा प्रकट गर्नुभएको छ । त्यो कसरी सम्भव हुन्छ होला र ?’ ओलीले जबजको लाइनमा पनि अडान यथावत राख्ने बताएपछि आफूहरु आश्चर्यमा परेको ती माओवादी नेताको भनाई छ । ‘प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एउटा पद प्रचण्डलाई दिने पूर्वसहमति त भएकै हो नी ! तर ओलीजीले अहिले किन यस्तो गरिरहनु भएको छ, हामीलाई केहि थाहा छैन । यसरी कसरी एकता हुन्छ ?’

ती माओवादी नेताले भने । महासचिव पोखरेलले दुई पार्टीबीचको एकतापछि सरकारको नेतृत्व आलोपालो भन्ने कुरा पनि नहुने बताउदै आएका छन् । छुट्टा छुट्टै पार्टीबीच सत्ता समिकरण बन्दा मात्रै आलोपालोको कुरा हुने भएकाले एउटै पार्टी भएपछि आलोपालोको कुरै नहुने जिकिर गर्दै आएका छन् ।तर, राष्ट्रिय सभा सदस्य, प्रदेशसभाका गठनमा सिट बाँडफाँड गर्न भने कार्यदल नै बनाएर दुई दलले काम गरिरहेका छन्। पार्टी एकता प्रक्रियाका लागि गठन हुने भनिएको सैद्धान्तिक वैचारिक र संगठनात्मक स्वरूप कस्तो हुन्छ भन्ने विषय टुंगो लगाउने दुई कार्यदल भने अझै गठन हुन सकेको छैन।

एकताका बारेमा पार्टी्भित्र युवाहरूको भूमिका, पार्टी एकता प्रक्रिया लम्बिँदा विस्तारै बढ्दै गएको दुवै पार्टी्भित्रको अविश्वास र आशंकाहरु भने बिस्तारै बाहिर आउँन थालेका छन् र यसैवीच भारतीय विदेशमन्त्री सुष्मा स्वराज दिल्ली फर्किएको भोलिपल्ट राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवासमा केपी ओली र प्रचण्डसँग ‘लञ्च’ सहित छलफल गरिन् । आइतबारको यो छलफलमा राष्ट्रपति भण्डारीले पार्टी अध्यक्ष र प्रधानमन्त्री पद बाँडफाँट गरेर भए पनि मिल्न प्रचण्ड र ओलीलाई आग्रह गरेकी थिइन् । तर, भण्डारीको यो  प्रस्ताव ओलीले ठाडै अस्वीकार गरेको माओवादी स्रोतले बतायो ।

ओली पूर्वसहमति पछि हटेको भण्डारीको पनि बुझाई छ । त्यसैले  भण्डारीले ओलीलाई ६ घन्टे लन्च मिटिङमा बोलाएर लामो छलफल गरेकी थिइन् तर उनको कुरा पनि ओलीले नसुनेपछि माओवादी केन्द्र तनावमा छ । स्रोतका अनुसार एमाले अध्यक्ष ओली प्रचण्डलाई सहअध्यक्षमा मनाउन प्रयासरत छन् । एमाले र माओवादीले प्रदेश र प्रतिनिधिसभाको टिकट भागवण्डा गर्दा ६० र ४० को मापदण्ड लगाएका थिए । चुनावी परीणाममा झण्डै ७० र ३० देखिएको छ । चुनावी मत अनुसार पनि प्रचण्डलाई पार्टी अध्यक्ष दिन नहुने मत एमालेमा देखिएको छ ।

माओवादी नेताहरुले चाहिँ अध्यक्ष र प्रधानमन्त्रीबारे यसअघि नै सहमति भइसकेको र एमालेले प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एउटा रोज्नुपर्ने अडान लिइरहेका छन् । प्रधानमन्त्री र पार्टी अध्यक्ष पदमा केपी ओली र प्रचण्डले भागवण्डाको सहमति गर्नुबाहेक अर्को विकल्प नरहेको माओवादीको तर्क छ । एमालेभित्र प्रचण्डलाई सहअध्यक्ष बनाउने वा प्रचण्डलाई अध्यक्ष बनाएर केपी ओलीलाई सर्वोच्च नेता बनाउने वा माधव नेपाल र प्रचण्ड दुबैलाई अध्यक्ष बनाउने विकल्पका विषयमा समेत कुराकानी भइरहेको स्रोतले बतायो ।

चुनावअघि प्रचण्डलाई पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एउटा पद दिन्छु भनेर फकाएको तर, चुनावपछि अध्यक्ष बनाउन अन्कनाउँदा पार्टी एकता अनिश्चित बनेको माओवादी नेताको गुनासो छ । ‘ओली नयाँ सरकार गठनका लागि तयारीमा जुटेका छन् भने प्रचण्ड पहिले पार्टी एकता गर्नुपर्ने पक्षमा छन् । तर चैत्र यता कुनैपनि हालतमा २ पार्टी एक बन्नसक्ने परिस्थिति नै देखिदैन ।’ ती माओवादी नेताले भने, – ‘बरु राष्ट्रपतिज्यू अध्यक्ष प्रचण्डको पक्षमा हुनुहुन्छ ।