नर्सहरुको आन्दोलन किन ? - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

नर्सहरुको आन्दोलन किन ?



काठमाडौं – सरकारी र निजी अस्पतालमा एउटै तहमा कार्यरत स्टाफ नर्सहरूको तलब भत्तामा पाँच गुणा बढी फरक (विभेद) हुने गरेको छ । अस्पताल एवं नर्सिङ होमहरूमा चरम आर्थिक शोषण हुन थालेपछि नर्सहरूको विदेश जाने लस्कर बढेको छ ।

शिक्षण अस्पतालमा पीसीएल गरेका पाँचौं तहका स्टाफ नर्सको मासिक तलब ४० हजार छ । तर सोही तहमा निजी अस्पतालमा कार्यरतको मासिक तलब ६ हजारको हाराहारीमा रहेको नर्सहरू बताउँछन् । बीएनएस (ब्याचलर अफ नर्सिङ साइन्स) तेस्रो वर्षकी छात्रा विमला धमला भन्छिन्, ‘निजी अस्पतालमा जसलाई जति मन लाग्यो त्यति दिने प्रचलन छ । कतिपय नर्सलाई तीन हजारसम्म दिने गरेको सुनेकी छु ।’

निजी तहमा खोलिएका होम केयर, अस्पताल एवं नर्सिङ होमहरूमा नर्सको चरम आर्थिक शोषण हुने गरेको छ । नेपालमा झन्डै ७४ हजार नर्सहरू छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

नर्सहरूलाई आकर्षक तलब भत्ता दिने त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पछिल्लो चार महिनामा २९ जना नर्सहरूले राजीनामा दिएको प्रशासन स्रोतले जनाएको छ । ०७४ भदौदेखि हालसम्म मंसिरसम्म २६ जना नर्सहरूले राजीनामा दिएका छन् । अस्पतालले करारमा पदपूर्ति गर्न नपाउँदै अन्य तीन नर्सले राजीनामा दिएका छन् । राजीनामा दिएकी एक नर्स भन्छिन्, ‘सरकारी होस् वा निजी कतै पनि वृत्ति विकास र उत्प्रेरणाको व्यवस्था छैन । लाखौं तिरेर पढियो अब विदेश नै उपयुक्त विकल्प भयो ।’

भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रबाट नर्र्स निष्कासन गरिएपछि आन्दोलनमा उत्रिएका नर्सहरूले अस्पतालहरूमा मंगलबार बिहानी सिफ्टमा काम बन्द गरेका छन् । नेपाल नर्सिङ संघको अगुवाइमा नर्सहरू ७ दिनदेखि आन्दोलनरत छन् । उनीहरूले मंगलबार अस्पतालमा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म ड्युटी छाडेर नर्स निष्कासनको विरोध गरेका छन् । उनीहरूले निष्कासित नर्सहरूलाई बिनासर्त अविलम्ब पुनर्बहाली गर्नुपर्ने माग गरेका छन् । उनीहरूले अधिकारसहितको नर्सिङ सेवा महाशाखा पुनःस्थापना गर्नुपर्ने, गुणस्तरीय नर्सिङ सेवाका लागि नर्स र बिरामीको अनुपात यथाशीघ्र लागू गर्नुपर्नेलगायत ११ बुँदे माग अघि सारेका छन् ।