१९ वर्षीय युवकले गरे १७ जनाको निर्मम हत्या - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

१९ वर्षीय युवकले गरे १७ जनाको निर्मम हत्या



फ्लोरिडा – अमेरिकाको फ्लोरिडा राज्यको पार्कल्याण्डस्थित एक हाइस्कुलमा मच्चिएको गोलीकाण्डमा १७ जनाको मृत्यु भएको छ ।

 

पार्कल्याण्डस्थित स्टोनमेन डगलस हाइस्कुलमा बुधबार दिउँसो करिब साढे दुई बजे स्कुल छुट्टी हुने समयमा एकजना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएका हुन् ।

गोली लागेर १७ जनाको मृत्यु भएको सुरक्षा अधिकारीहरुले जनाएका छन् । घाइते भएका दर्जनौं विद्यार्थीलाई अस्पताल लगिएको छ ।

बन्दुकधारी सोही स्कुलका पुर्व विद्यार्थी १९ वर्षीय निकोलस क्रुज रहेको सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

स्कुल रहेको ब्रोवार्ड काउन्टीका प्रहरी अधिकारी स्कट इजरायलका अनुसार बन्दुकधारीको साथमा कम्तिमा एउटा राइफल र दर्जनौं म्यागाजिन थिए । बन्दुकधारीलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् ।

बन्दुकधारी क्रुजलाई अनुशासनहिन भएको भन्दै उक्त स्कुलबाट निकालिएको सुरक्षा अधिकारीले जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनाप्रति गहिरो दुख व्यक्त गर्दै भनेका छन्, ‘अमेरिकाका स्कुलमा विद्यार्थी, शिक्षक वा कसैले पनि असुरक्षा महसुश गर्नु हुँदैन ।’

अमेरिकाका स्कुलहरुमा हरेक वर्ष जसो कतै न कतै यस्ता गोलीकाण्डहरु हुँदै आएका छन् ।

विश्वका अन्य देशमा विरलै यस्ता घटनाहरु हुने भन्दै अमेरिकी सुरक्षा विश्लेषकहरुले फेरि पनि यस्ता घटना रोक्न सरकारले विशेष कदम चाल्नु पर्नेमा जोड दिएका छन् ।