लोडसेडिङ्ग मुक्त जिल्लामा विद्युत् एक घण्टा पनि टिक्दैन - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

लोडसेडिङ्ग मुक्त जिल्लामा विद्युत् एक घण्टा पनि टिक्दैन



घनश्याम पौडेल
अर्घाखाँची । अर्घाखाँची जिल्लालाई लोडसेडिङ्ग नहुने जिल्लाको रूपमा लिए पनि हिजोआज विद्युत् एक घण्टा पनि टिकन सकेको छैन । विद्युत् प्राधिकरणको ४२०१३१ नम्बरमा फोन डायल गरेर विद्युत् के भयो भनेर सोध्दा झिमरुकबाट गएको हो केही समयपछि आउँछ भन्ने जवाफ जिल्लाबासीले पाउने गरेका छन् ।

जिल्लाका साना लघु उद्योग नियमित विद्युत् नहुँदा समस्यामा परेको गुनासो गर्ने गरेका छन् । ‘विद्युत् जाने र आउने ठेगान नै हँुदैन, हामीले नियमित रूपमा उत्पादन गर्न गाह्रो भएको छ’, पशुपति बेकरी उद्योगका सञ्चालक योगेन्द्र खड्काले बताए ।

‘हामीले दैनिक उपभोग गर्ने पाउरोटी,चाउमिन लगायतका बेकरी आईटम तयार गर्ने गर्दछौँ तर लाईट आउने जाने भने थाहा नै हँुदैन, लोडसेडिङ्ग मुक्त जिल्ला भनेर भन्छन्, एक घण्टा पनि लाइन टिक्दैन’, उनले भने । त्यसो त विद्युत् नियमित आपूर्ति नहँुदा खानेपानीको पनि उत्तिकै समस्या हुने गरेको छ ।

जिल्लामा झिमरुक, पाल्पा, गुल्मी र पाल्पाबाट विद्युत् जडान गरिएको छ । जिल्लामा नियमित रूपमा विद्युत् आएमा मात्रै लोडसेडिङ्ग गर्न नपरे पनि बुटवल, पाल्पा र गुल्मीको लाइनमा ६० प्रतिशत डिस्टर्ब हुँदा लोडसेडिङ्ग गर्न परेको विद्युत् प्राधिकरण अर्घाखाँचीका शाखा प्रमुख बिरमान रास्कोटीले बताए । ‘हामीसँग एउटा मात्र सब स्टेशन चालु अवस्थामा छ । जिल्लामा ५ मेगावाट विद्युत् खपत छ तर प्युठानबाट अधिकतम २.५ मात्र दिने गरेको छ । बाँकी अन्य जिल्लाबाट आउने हो, त्यसो त प्युठानको बाहेक अन्य जिल्लाबाट आउने लाईन लामो दुरीको भएकोले डिस्टर्ब छ त्यही भएर लोडसेडिङ्ग गर्नु परेको हो ।’

जिल्लाको सिमलपानीको बाणगंगा खोला र सिद्धाराको सितखोलाबाट ४ वाटसम्म विद्युत् निकाल्न सक्ने क्षमता भएको भए पनि त्यता काम सुरु भएकोबारे विद्युत् प्राधिकरणलाई जानकारी नभएको कार्यालयले जनाएको छ । जिल्लामा हाल चालुमात्रमा एउटा मात्र अर्घा सबस्टेशन भएकाले पनि विद्युत्मा समस्या आएको र अब निर्माण हुन लागेका थप तीन वटा ठाडा, हंसपुर र दुर्गाफाँटको सब स्टेशसन निर्माण भएपछि सजिलो हुने कार्यालय प्रमुख रास्कोटीले बताए । ‘हाम्रो एउटा मात्र चालु अबस्थामा सब स्टेशन छ, तीनवटा निर्माणधिन अबस्थामा छन् । सब स्टेशन बनेपछि ३३ के.भि.को प्रसारणलाई ११ के.भी बनाउने काम गर्दछु, जुन हाम्रो नियन्त्रणमा हुन्छ, लाइन जाने समस्या कम हुन्छ,’ उनले भने ।