ओ माई गड ! काठमाडौँ स्मार्ट सिटी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

ओ माई गड ! काठमाडौँ स्मार्ट सिटी



  • दीपक घिमिरे

सात वर्षको लामो खाडी बसाई पछि आज नेपाल जादैछु ।

प्लेनको पर्खाइमा अबुधाबी एयरपोर्टको टर्मिनल टु मा बसेको छु । यो लेखाइ मेरो प्यारो देशको सबैभन्दा ठुलो सहर काठमाडौँ पुगेपछि अन्त्य हुनेछ ।

सात वर्ष अघि हरियो पासपोर्ट बोकेर खाडी छिर्दा म नेपाललाई खास्सै माया गर्थेन । त्यहाँको अभाव , दुख अनि आर्थिक पिडाले छटपटिएर खाडी आउँदा म यही खाडीलाई आफ्नो कर्मथलो मान्दै आएको थिए र यही देशको माया लाग्थ्यो ।

तर समय सँगै जन्मथलो नेपालको माया लाग्न थाल्यो । पैसा भन्दा प्यारो परिवार लाग्न थाल्यो , काम भन्दा ठुला आफन्त लाग्न थाले ।

अनि सात वर्ष लामो खाडी बसाइलाई बिट मार्दै आज उडदैछु नेपाल ।

यति लेख्दा लेख्दै ईत्तेहाद एयरको नेपाल जाने बोईङ आईपुगेको खबर पाए । लेख्न छाडेर चेक इन हुने लाइनमा उभिए । अनि बोईङ पास लिन हतारिए ।

पी–४ सिट नम्बर भएको बोईङ पास पाए । यो सिट ठ्याक्कै झ्याल तिर रहेछ । साईडमा तीन जना अरबी युवा थिए । म आफ्नो सिटमा बसेपछि सुरु भयो परिचयात्मक कार्यक्रम ।

नेपालको हाईड्रोपावरमा जागिर गर्न दुबईबाट नेपालमा भिसा पाएका ती युवाहरू काठमाडौँ जाँदै रहेछन् । मैले सात वर्ष उनीहरूको देशमा मजदुरी गरेर फर्कदै छु भन्दा एउटाले पनि विश्वास गरेनन । उनीहरू नेपाललाई विश्वकै एक नम्बरमा अर्थतन्त्र बलियो भएको देशको रूपमा बुझेका रहेछन् ।

मैले सात वर्ष उनीहरूको देशमा मजदुरी गरेको कुरा सुनेर एउटाले भन्यो ‘ झुट नबोल मित्र ! विश्व भरीका मान्छेका लागि नेपालको वर्किङ भिसा लाग्नु सपनाको कुरा हो । नेपालीको प्रति व्यक्ति आए सुनेर हामी दङ्ग पर्छौ तर तिमी चैँ मजदुरी गर्न यो देश आएको कुरा गर्छौ । ’

उसले यस्तो भनेपछि म आफै अचम्म परे । उनीहरूको कुराले अलिकति हसायो पनि अनि उनीहरूको भिसा कपि मागेर हेरे ।

अपर कर्णाली हाईड्रो प्रोजेक्टमा सामान्य मजदुरीको भिसा रहेछ । आफ्नै देश नेपाल बाहिरी मुलुकबाट श्रमिक आयात गर्ने हैसियतमा पुगेको देखेर छक्क परे । श्रम सम्झौता पत्रमा उनीहरूको तलब प्रति घण्टा दस डलर लेखिएको थियो । उनीहरू नेपालमा भिसा लगाउन सफल भएकोमा निक्कै खुसी देखिन्थे ।

सामान्य मजदुरलाई यो तलब भनेको मैले गर्ने कल्पना भन्दा माथि थियो । झुटो हो कि भनेर श्रम स्वीकृति पत्रको लोगो हेरे । श्रम मन्त्रालयको सक्कली लेटर प्याडमा मन्त्रालयका सचिव तारिणी शर्माले सही छाप गरेका थिए । सबै भिसा सक्कली थियो ।

मासिक तीस हजारका लागि अबुधाबी छिरेको मैले आफ्नै देशमा सामान्य मजदुरले मासिक लाखौँ कमाउने भैसके भन्दा पत्याउनै सकेन । तर वास्तविकता यही थियो । देशले सात वर्षमै कायापलट गरेको रहेछ ।

आर्थिक रूपमा कोल्टे फेरेको मेरो देशले हाईड्रो पावर र पर्यटन क्षेत्रबाट आर्थिक लाभ उठाउदै विश्वमा सबैभन्दा धनी देशहरूको सूचीमा एक नम्बरमा परेको रहेछ ।

लगभग चार घण्टाको उडान पछि प्लेन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लियो । विमानस्थलमा ओर्लना साथ मलाई मेरो देश विश्वकै धनी देश भएको महसुस भयो । सात वर्ष अघि देखेको एयरपोर्ट र आज देखेको एयरपोर्ट बिच आकाश जमिनको फरक थियो ।

एयरपोर्ट भित्रका ड्युटी फ्री सपहरू सायद विश्वकै उत्कृष्ट सपहरुमा पर्दथे । एयरपोर्टमा काम गर्ने क्लिनर देखि भिसा पासपोर्ट चेकिङमा बसेकाहरु विश्वका हरेक कुनाबाट आएकाहरु जस्तै लाग्दैथ्यो । कोही काला थिए त कोही गोरा अनि कोही पूर्वी एसियाका जस्ता ।

नेपालीहरू खास्सै देखिएनन , सायद अफिस भित्र बसेर निर्देशन दिने काम नेपालीको हुन्थ्यो होला । किनकि अहिले नेपालीहरूको हैसियत धेरै माथि पुगीसकेको थियो ।

एयरपोर्टबाट बाहिर निस्केपछी म अचम्म परे ।

के यो साँच्चै मेरो काठमान्डौ हो भनेर आफैलाई प्रश्न गरे । पत्याउनै नसकेर एक पटक आफैले आफैलाई चिमोटे , कतै म सपनामा त छैन भनेर ।

म बिपनामै थिए । म अहिले काठमाडौँ स्मार्ट सिटि भित्रको एयरपोर्टमा पार्कीङ एरीयामा थिए ।

टोयोटा कम्पनीको क्याम्री भन्ने कारहरु ट्याक्सीको रूपमा थिए । म खाडी जाँदा सुजुकी मारुती खटारा ट्याक्सीले भरिएको काठमाडौँ स्वच्छ सफा अनि हराभरा भएको देख्दा अचम्म नपर्ने कुरै भएन ।

टोयोटा कम्पनीको ट्याक्सी चढेर एयरपोर्टको गेट क्रस हुँदै थिए , गौसाला तीरबाट एउटा लामो पुल एयरपोर्ट हुँदै तिनकुने तिर गएको देखे ।

ट्वाँ परेर हेर्दै थिए , सुलुत्त एउटा मेट्रो रेल कुदेर गयो ।

म अचम्म परी मोबाइल निकालेर फोटो खिच्ने सुर गर्दै थिए , ट्याक्सीले भित्र अँध्यारो भयो । झोलाबाट मोबाइल ननिकाली बाहिर हेरेको सोच्नै नसकिने अवस्था ।

हासो र आश्चार्य एकै पटक बाहिर आयो अनि ट्याक्सी ड्राईभरलाई सोधे ‘ किन अँध्यारो ? ’

उसले सामान्य हुँदै भन्यो ‘ यो प्वाईन्टबाट सुरुङ्ग मार्ग पक्ड्यो भने हामी गंगबु बसपार्कमा निस्कन्छौ । माथिबाट भन्दा यही रुट सजिलो लाग्छ मलाई र छोटो पनि पर्छ हजुर । ’

उसलाई सामान्य लागेपनि म अचम्म नहुने कुरै भएन । छक्क परेर सुरुङ मार्ग नियाली रहे ।

सहरमा सडक सञ्जाल यसरी विकसित भएको रहेछ कि कुनै जमानामा बसपार्क बाट एयरपोर्ट पुग्न दुई घण्टा लाग्थ्यो भनेर अब कथामा सीमित हुने भयो । माथि मेट्रो रेल गुडेका छन् सुलुलुलु , भुईमा आठ लेनको सडक छ चिल्लो अनि अन्डरग्राउण्डमा सुरुङ्ग मार्ग छ सलललल ।

म एकोहोरो सोच्दै थिए , गंगबु बसपार्कमा ट्याक्सी उक्लियो ।

बसपार्क यति व्यवस्थित थियो कि वर्णन गर्न सकिन ।

बसहरु दुई तले सम्मका थिए । लामा बसहरु हेर्दै अचम्म लाग्ने रेल जस्ता पनि थिए । ट्याक्सीको बिलिङ सिस्टम रहेछ । उसले बिल दिँदै भन्यो ‘ एक सय असी रुपैयाँ मात्र । ’

मैले दुई सय रुपैयाँ दिँदै भने ‘ घर कहाँ हो भाइ ? ’

उसले भन्यो ‘ सिक्किम हो दाइ ! ड्राईभिङ भिसामा नेपाल आको तीन वर्ष भयो । ’

भारतको एउटा प्रान्त हो सिक्किम । भारतबाट नेपाल आउन भिसा लगाउन पर्ने नियम बनेको रहेछ । खुसीले गदगद भए । सोचे ! अब भारतीयहरुले हाम्लाई हेप्ने दिन सकियछन ।

दुईचार दिन यतै काठमाण्डौमा बस्ने रहर पलायो । बसपार्कको उत्तर साईडमा एउटा गगनचुम्मी टावर देखे । ठुला अक्षरमा लेखिएको थियो ‘ ट्रम्प होटेल । ’

सायद यो होटेल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हुनुपर्छ ।

बसपार्कमा झाडु लगाउदै कागजका खोस्टा अनि फोहर उठाउदै गरेको एउटा विदेशी कालेलाई बोलाएर सोधे ‘ बाँस बस्नको लागि त्यो ट्रम्प होटेलमा कसरी जाऊ ? कताबाट छ बाटो ? ’

उसले नजिकै भएको एउटा सानो इलेक्ट्रीक कार देखाउदै भन्यो ‘ त्यसैमा बस्नुस ! त्यो होटलले निःशुल्क राखेको सवारी साधन हो । त्यसमा बसेपछी सिधै होटेल । ’

बाहिरी देशको जस्तो भए पनि उ मज्जाको नेपाली बोल्दै थियो । उसलाई धन्यवाद भन्दै सोधे ‘ कुन देशबाट आएको ? ’
उसले लजाउदै भन्यो ‘ अमेरिकाको टेक्ससबाट ! ’

गर्वको महसुस भयो । मेरो देशले फडको मारेको देखेर गौरवान्बित भए । अनि उसले इसारा गरेको सानो कारमा बसे । कारको ड्राईभरले नसोधी ट्रम्प होटेलमा लिएर आयो ।

एकसय तीस तले यो बिल्डिङको नाम प्रचण्ड टावर रहेछ । प्रचण्ड प्रधानमन्त्री हुँदा बनेको सरकारी भवन रहेछ यो प्रचण्ड टावर । सरकारले ट्रम्प होटेललाई भाडामा दिएको रहेछ । अबको बसाई यही होटेलमा हुने भयो ।

रिसेप्सनमा ईजिप्टको नागरिक जस्ती एउटी रिसेप्सनिष्ट रैछिन ।

मैले पासपोर्ट देखाउदै रुम बुक गर्न खोजे ।

उनले मेरो पासपोर्ट हेरेर जुरुक्क उठिन अनि नेपाली पारामा नमस्कार टक्र्याउदै स्वागत गरिन ।

पछि थाहा पाए , यहाँ का होटेलहरुमा नेपाली देख्ने बित्तिकै निक्कै आदर सत्कार हुँदो रहेछ अनि शुल्क पनि पचास प्रतिशत डिस्काउण्ट रहेछ ।

बत्तिसौ तलाको स्विट रुममा बसेर एक पटक काठमाण्डौलाई नियाले । मेरो काठमाडौँ साच्चिकै अबुधाबी दुबई या युरोपका कुनै सहर भन्दा कम थिएन ।

कसैले ढोका ढक्ढ्याएको जस्तो अनुमान लगाउदै ढोका खोल्दिए । बाहिर बेल्जियमबाट रोजगारीको सिलसिलामा नेपाल आएको वेटर रहेछ । पानी लिएर आएको उसको नाम थियो डानियल स्मिीथ ।

उ सँग एक छिन गफ मारे । उ म जस्तै नेपाली बोल्दो रहेछ । उसले डिउटी एक बजे सकिने अनि डिउटी सकेर टुडिखेलमा सैनिक परेड हेर्न जाने निर्णय गरेको सुनायो ।

म उत्साही हुँदै उ सँगै जाने सल्लाह गरे , उ खुसी भयो ।

म फ्रेस भएर तल ओर्लिए , उ मलाई कुरेर बसेको थियो । होटेलको पार्किङमा गएर आफ्नो कार झिक्यो ।

ओ माई गड ! उसले बेन्टली कार किनेको रहेछ । स्पार्टी लुक्सको बेन्टली कार बाहिर ल्याएर भन्यो ‘ तपाईँ ड्राईभ गर्ने या म गरु ? ’

आफूलाई राम्रो सँग बाईक चलाउन आउदैन , कहाँ बाट कार चलाउनु ?

भन्न पनि लाज ! मैले उसलाई चलाउन आग्रह गर्दै भने ‘ तिमी चलाउ , म थाकेको छु । ’

उसले आठ लेनको चिल्लो सडकमा बेन्टली स्पोर्ट कार सय भन्दा माथिको स्पिडमा कुदायो । म दङ्ग परेर स्मार्ट सिटि काठमान्डौ नियाली रहे ।

टुडिखेलमा पुगेपछीको रौनक नै छुट्टै ।

आकाशमा एफ–१६ वाला फाईटर विमानले आफ्नो कला देखाउदै थिए । सैनिकहरु विभिन्न खाले आधुनिक हतियार र ट्यांकहरु प्रदर्शन गर्दै थिए ।

लहरै बसेका विभिन्न देशका राष्ट्रप्रमुखहरु हाम्रो देशको सैनिक अभ्यास बडो चाख मानेर हेर्दै थिए । पुष्पक बिमानहरुले टुडिखेल क्षेत्रमा पुष्प वर्षा गर्दै थिए ।

म भिडलाई चिर्दै अगाडि बढे । नेपाली भन्ने बित्तिकै बाहिरी देशका पर्यटक र श्रमिकहरूले निक्कै इज्जत गर्दा रहेछन् आज पहिलो पटक अनुभव गर्दै छु ।

आज महा शिबरात्री पर्व रहेछ ।

यो दिन हाम्रो देशका सैनिकले आफ्नो हैसियत र क्षेमता सारा विश्वभर प्रदर्शन गर्ने पुरानो चलन हो । तर फरक यत्ति थियो कि आज हाम्रो देशको सैनिक क्षेमता देखेर जापान , चाईना अनि अमेरिका जस्ता शक्तिशाली राष्ट्रहरु झुक्न बाध्य छन् । संसारकै शक्तिशाली राष्ट्रको रूपमा नेपालको उदय भएको छ ।

म सैनिक अभ्यास हेर्न मञ्चकै नजिक गए ।

बडो हर्सोल्लासका साथ सैनिक अभ्यास चल्दै थियो । म रोमान्चित मुडमा थिए । सैनिकले राष्ट्रपति केपि ओलीलाई एक्काइस तोपको सलामी चढाउदै थियो ।

टुडीखेलमा एकै पटक भटटट तोपका आवाज गुञ्जिए । राष्टपति ओली सलामी ग्रहण गर्न निक्कै व्यस्त देखिन्थे ।

तोपको सलामी आवाज सँगै झल्यास्स ब्युझिए ।

मोबाइलमा छ बजेको आलार्म बजेको रहेछ भटटट गरेर ।

अस्ति नयाँ मोबाइल किनेपछी साथीले तोपको जस्तो आवाज आउने आलार्म टोन सेट गर्दिएको थियो । जहिले ढिला काममा जाने म आजपनी देशको र स्मार्ट सिटि काठमाण्डौको सपना देखेर ढिलै भएछु ।

हतारका साथ निलो लेबरको ड्रेस लगाउदै कुदेर टाटाको लेबर चढने बसमा बसे । अनि बसले लेबर क्याम्प मुसफ्फा लाई छाडेर बनियास तर्फ मोडीयो । स्मार्ट सपनामा रमाउदै अरू चार महिना विदेश बस्ने दिन गन्दै काममा लागीयो ।