आईपीएलमा सन्दीपलाई खेलाउन डेयरडेभिल्सको 'ग्रीन सिग्नल' - Himal Post Himal Post
  • २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
Logo

आईपीएलमा सन्दीपलाई खेलाउन डेयरडेभिल्सको ‘ग्रीन सिग्नल’



भीभो आईपीएल– २०१८ मा दिल्ली डेयरडेभिल्स (डीडी)ले हालसम्म खेलेका ४ मध्ये ३ खेलमा पराजय व्यहोरेको छ । यद्यपि उसले यससिजन आफ्नो घरेलु मैदानमा खेलिने ७ वटै खेल खेल्न बाँकी छ । हालसम्म दिल्लीले सबै खेल विपक्षीको मैदानमा खेलेको छ ।

दिल्लीले शनिबार रोयल च्यालेञ्जर्स बैंग्लोरसँग बैंग्लोरमै खेल्नेछ । त्यसपछि सोमबार बल्ल फिरोज साह कोटला मैदानमा दिल्लीको टीम फर्किनेछ, जहाँ उसको भेट पाहुना टोली किंग्स इलाभेन पञ्जावसँग हुनेछ । दिल्लीमा नेपाली खेलाडी सन्दीप लामिछाने पनि अनुबन्धित छन् । सन्दीपले हालसम्म खेल्न पाएका छैनन् ।

दिल्लीको टीमले बलिङमा राम्रो गर्न नसकिरहेको र अन्य केही टीमले तीन स्पीनर खेलाएर शानदार नतिजा निकालिरहेको अवस्थामा सन्दीप लामिछानेले खेल्न पाउने सम्भावना बढेको छ । डीडीको आधिकारिक वेबसाइटले घरेलु मैदान कोटलामा सन्दीप उपर्युक्त विकल्प हुनसक्ने लेखेको छ । कोटलाको मैदान स्पीन फ्रेण्ड्ली मानिन्छ ।

टेस्टमा भारतीय स्पिनर अनिल कुम्लेले पाकिस्तानविरुद्ध एकै पारीमा १० वटै विकेट लिएको यही मैदानमा हो । यस मैदानमा खेलिएको अन्तिम टी–ट्वान्टीमा न्युजिल्याण्डविरुद्ध भारतीय स्पीनरले ६ विकेट लिएका थिए । डीडीको वेबसाइटमा लेखिएअनुसार यस मैदानमा तीव्र गतिका बलरले करीब १० को औसतमा रन खर्चिएका छन्, जबकि स्पीनरको इकोनोमी ६।३३ छ, जुन टी–ट्वान्टीमा निकै राम्रो मानिन्छ ।

सन्दीपले १९ वर्षमुनिको विश्वकपमा आयरल्याण्डविरुद्ध लिएको ह्याट्रिक, डिभिजन टूमा सबैभन्दा धेरै विकेट लिने खेलाडी बन्दै पाएको म्यान अफ द सिरिजको उपाधि, विश्वकप छनोटको प्रदर्शन लगायतलाई उल्लेख गर्दै डीडीको वेबसाइटले सन्दीप फिरोज साह कोटला मैदानमा निकै प्रभावकारी बन्न सक्ने विश्वास गरेको छ ।

‘हामी यस्तो यसकारण भन्दैछौं, जुन तरिकाबाट आईपीएल–११ मा तीन स्पीनर टीममा सामेल गर्ने लहर चलेको छ र त्यस्ता टीमहरूले सफलता पनि हासिल गरिरहेका छन्, यस्तो अवस्थामा दिल्ली पनि आफ्नो झोलीबाट सन्दीप लामिछानेलाई निकाल्न चाहन्छ’, डीडीको वेबसाइटमा लेखिएको छ ।

साथै समाचारमा अस्ट्रेलिन लेजेण्ड लेग स्पिनर शेन वार्नका फ्यान सन्दीपलाई अस्ट्रेलियन पूर्वकप्तान माइकल क्लार्कले पहिचान गरी अष्ट्रेलिया लगेर प्रशिक्षण दिएको पनि उल्लेख छ ।

यदि सन्दीपले दिल्लीको पहिलो घरेलु खेलमा डेब्यु गर्ने मौका पाएमा उनले क्रिस गेल, एरोन फिन्च तथा युवराज सिंहजस्ता धुरन्तर ब्याट्सम्यानको सामना गर्नुपर्नेछ । शुरुमा टीममा स्थान बनाउन नसकेका गेलले पछिल्लो दुई खेलमा शानदार प्रदर्शन गरेका छन् । आफूले खेलेको पहिलो खेलमा अर्धशतकीय पारी खेलेका गेलले बिहीबार खेलेको दोस्रो खेलमा शतक प्रहार गरेका थिए ।