हेमराज–आरुषी हत्या प्रकरण : सर्वोच्च अदालतमा दोस्रो जाहेरी दर्ता, खुल्ला त हत्याराको पहिचान ? - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

हेमराज–आरुषी हत्या प्रकरण : सर्वोच्च अदालतमा दोस्रो जाहेरी दर्ता, खुल्ला त हत्याराको पहिचान ?



काठमाडौं– भारतको चर्चित हेमराज–आरुसी हत्याकाण्डमा हाइकोर्टको फैसलालाई चुनौती दिँदै हेमराज बञ्जाडेकी पत्नी खुमकला बञ्जाडेले दिएको निवेदन भारतीय सर्वोच्च अदालतले स्वीकार गरेको छ।

हत्याकाण्डमा हाइकोर्टको फैसला बदर हुनुपर्ने र पुनः अनुसन्धान भई निर्णय हुनुपर्ने खुमकलाको मागमा सुनुवाइ गर्दै सर्वोच्चले नयाँ फैसला सुनाउनेछ।

यसअघि भारतीय केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई)ले हाइकोर्टको फैसलाप्रति असन्तुष्टि जनाउँदै सर्वाेच्च अदालतमा अपिल गरेको थियो। हाइकोर्टको फैसला विरुद्ध हेमराजकी पत्नीले दर्ता गरेको अपिल दोस्रो हो।

२००८ मे १४ मा भएको आरुषी–हेमराज हत्याकाण्डमा प्रमाणको अभाव देखाउँदै इलाहावाल हाइकोर्टले २०१७ अक्टुबर १२ मा आरुषीका बुवा–आमा राजेश तलवार र नुपुर तलवारलाई रिहा गर्ने आदेश दिएको थियो।

तर, हेमराजकी पत्नीले पुन जाहेरी दर्ता भएपछि तलबार दम्पतीलाई रिहा गर्ने वा नगर्ने विषयमा हाइकोर्टले गरेको फैसलाबारे अब सर्वोच्च अदालतले निर्णय गर्नेछ।

नेपालको अर्घाखाँची धारापानी स्थायी घर भएकी खुमकलाले इलाहावाद हाइकोर्टको फैसलालाई चुनौती दिँदै हत्याकाण्डका अभियुक्त तलवार दम्पतीलाई निर्दोष ठहर गर्ने फैसला उल्टाउन समेत माग गरेकी छन्। उनले भारतमा मजदुरी गरिरहेका आफ्नो निर्दोष पतिको हत्या गरेको र आफूलाई न्याय चाहिएको दाबी निवेदनमा गरेकी छन्।

खुमकलाले न्याय माग्दै गत पुसमा भारतीय सर्वोच्च अदालतमा जाहेरी निवेदन दिएकी थिइन्। उनले दिल्ली पुगेर दर्ता गरेको निवेदन सर्वोच्चले ३ महिनापछि स्वीकार गरेको हो। उनले एक महिनाअघि फैसला पुनरावलोकनका लागि निवेदन दिएकी थिइन्। सुरु अदालतले दोषी ठहर गरेको र हाइकोर्टले त्यसलाई उल्टाएकाले सर्वोच्चले त्यसमा पुनः सुनुवाई गर्ने निर्णय गरेको छ।

सर्वोच्चले खुमकलाको याचिका (निवेदन) दर्ता गरेपछि यसमा सर्वोच्चले हेर्न पाउने भएको हो। यसअघि सिबिआईले याचिका दर्ता गरेकोमा खुमकलाले दिएको जाहेरी पनि सर्वोच्चले स्वीकार गरेको छ। अब सर्वोच्चले दुई वटा जाहेरीको आधारमा नयाँ फैसला गर्नेछ।

खुमकलाले दर्ता गरेको निवेदनमा हाइकोर्टको फैसला गलत भएको दाबी गरिएको छ। हाइकोर्टले आफ्नो पतिको हत्या भएको स्वीकार गरेको तर कसैलाई दोषी ठहर नगरेकाले उक्त फैसला त्रुटिपूर्ण भएकाले बदर भई तलवार दम्पतीलाई सजाय हुनुपर्ने माग गरिएको छ। सिबिआईले दर्ता गराएको निवेदनमा पनि हत्याको समयमा उपलब्ध व्यक्ति नै हत्यारा हुने सिद्धान्त नमानेकाले फैसला उल्टाई तलवार दम्पतीलाई सजाय हुनुपर्ने माग गरिएको छ। अन्तिम समयमा जलवायु विहारमा तलवार दम्पती सँगै रहेको उनीहरुले बयानमा स्वीकार गरेको निवेदनमा जिकिर गरिएको छ।

हत्या पुष्टिका लागि ड्राइभर उमेश शर्माले अदालतमा बयान दिएको र हत्या भएको रात कुनै पनि नयाँ व्यक्ति तलवार निवासमा नआएकाले उनीहरुले नै हत्या गरेको पुष्टि हुने हेमराजकी श्रीमतीले दिएको निवेदनमा उल्लेख गरेकी छन्। २००८ मे १५ मा आरुषीको हत्या भएको थियो भने मे १६ मा नेपालका हेमराजको शव भेटिएको थियो। उक्त समयमा निवासमा तैनाथ भएका सुरक्षागार्डले छोटो अवधिमै दुई हत्या भएको र घरमा अन्य व्यक्ति प्रवेश हुन नसक्ने र प्रवेश गरेको आफूलाई जानकारी नभएको भनी बयान दिए पनि त्यसलाई हाइकोर्टले बेवास्ता गरेको जिकिर पनि गरिएको छ।

सिबिआई विशेष अदालतले हत्याको घटनामा तलवार दम्पतीलाई नै दोषी ठहर गरेको थियो। २०१३ नोभेम्वरमा सिबिआई अदालतका न्यायाधीश एस लालले तलवार दम्पतीलाई आजीवन काराबासको फैसला सुनाएको थियो। यस प्रकरणमा प्रमाण नष्ट गरेको भन्दै थप पाँच वर्ष अत्तिरिक्त सजाय हुने फैसला समेत सो अदालतले तय गरेको थियो।

के हो हेमराज–आरुषी हत्याकाण्ड?

डेन्टिस्ट राजेश तलवारकी १४ वर्षीया छोरी आरुषी र उनको घरमा काम गर्ने हेमराजको १५ र १६ मे २००८ मा नोएडा जलवायु विहारस्थित तलवार निवासमा हत्या भएको थियो।

आरुषी आफ्नै घरमा मृत भेटिएकी थिइन् भने हेमराजको एक दिनपछि शव फेला परेको थियो। सो घटनामा प्रहरीले सुरुमा घरमा काम गर्ने हेमराजमाथि शंका गरेको थियो। तर, उनी पनि उक्त घरबाट गायब भएको पाइएपछि थप अनुसन्धान अघि बढाइएको थियो।

भोलिपल्ट हेमराजको शव खोला किनारमा भेटिएपछि यो प्रकरण रहस्यमय भएको थियो। उत्तरप्रदेश प्रहरीले सुरुमा मुद्दा अनुसन्धान गर्दा घरमा काम गर्नेमाथि शंका गरे पनि पछि तलवार दम्पतीमाथि नै शंका गरेको थियो। तलवार दम्पतीले आरुषी र हेमराजलाई आपत्तिजनक अवस्थामा देख्दा आवेगमा आई हत्या गरेको निष्कर्ष प्रहरीले निकालेको थियो।

यो मुद्दा सिबिआईको जिम्मामा पुगेको थियो। २६ नोभेम्वर २०१३ मा सीबिआईको तल्लो अदालतले तलवार दम्पतीलाई दोषी ठहर गरेको थियो। यसको पछाडि प्रहरीले दाबी गर्दै आएको एउटै तर्क थियो, तलवार दम्पतीले आफ्नी छोरी र नोकरबीच यौन सम्बन्ध हुने गरेको थाहा पाएपछि दुवैको हत्या गरे।

३० महिनाको अनुसन्धानपछि सिबिआईले २०१० डिसेम्बरमा अदालतमा रिपोर्ट पेश गरेको थियो। उसले तत्काल देख्ने साक्षी नहुँदा यकिनका साथ कसले हत्या गरेको भनी किटेर भन्न नसकिएको प्रतिवेदनमा उल्लेख गरेको थियो। तर, त्यसलाई खारेज गर्दै सिबिआई कोर्टले आरुषीका अभिभावकलाई दोषी ठहर गरेको थियो। सो फैसला विरुद्ध तलवार दम्पती इलाहावाद हाईकोर्ट पुगेका थिए।

यो प्रकरण अब सर्वोच्च अदालत पुगेसँगै उसले गर्ने अन्तिम निर्णयले नै हत्याकाण्डको दोषी यकिन हुने देखिन्छ।नेपाल लाईभको सहयोगमा